
काठमाडौं ,१२साउन: आमाबुवाले आईफोन किन्नका लागि आफ्नो आठ महिनाको सन्तान बेचेका छन् ।भारतकाे पश्चिम बंगालको राजधानी कोलकाता नजिकैको उत्तर २४ परगना जिल्लाको ब्याराकपुरमा एक दम्पतीलाई प्रहरीले आईफोन १४ किन्न आफ्नो आठ महिनाको छोरालाई बेचेको आरोपमा पक्राउ गरेको छ ।
यो जोडी बाहेक प्रहरीले बच्चा किन्ने महिला प्रियंका घोषलाई पनि पक्राउ गरेको छ ।
एक प्रहरी अधिकारीले यसबारे जानकारी दिएका हुन् ।
ती प्रहरी अधिकारीका अनुसार दम्पतीले सोधपुछका क्रममा सामाजिक सञ्जालमा अपलाेड गर्न राम्रो भिडियो बनाउनका लागि राम्रो फोन किन्नका लागि आफ्नो छोरा बेचेको स्वीकार गरेका छन् । छोरा बेचेबापत् पाएको पैसाले ती दम्पतीले आइफोन मात्रै किनेनन्, दिघालगायत धेरै ठाउँमा घुम्न पनि गएका थिए ।
यो कुरा करिब डेढ महिना पुरानो हो तर यो साता मात्रै यसबारे थाहा भएको हो ।
प्रहरीले बालककी आमालाई पक्राउ गरी सोधपुछ गरेको छ । प्रहरीले खर्डा क्षेत्रस्थित प्रियंका घोषको घरबाट बालकलाई बरामद गरेको छ ।
बालकका बुबा जयदेव फरार थिए । तर अहिले उनी पनि पक्राउ परेका छन् ।
प्रहरीले तीनै जनाविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको छ ।
जयदेव दम्पतीका छिमेकीबाट प्राप्त जानकारीका आधारमा यस विषयमा जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ ।
जयदेवको आठ महिनाको बालक केही दिनदेखि नदेखेको र घरबाट रोएको आवाज पनि नआएको छिमेकीले प्रहरीलाई बताएका थिए । दम्पतीको हाउभाउमा पनि परिवर्तन आएको देखिएको छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
आर्थिक सङ्कटबाट गुज्रिरहेको दम्पतीको हातमा आइफोन देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।साभार: राताेपाटी