Madhes Khabar
राजनीति

कांग्रेस बैठक : बालकृष्ण खाणलाई पार्टी सदस्यबाट निलम्बन गर्न माग

काठमाडौं,४साउन: नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने विषय केन्द्रीय समिति बैठकमा प्रवेश गरेको छ । केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन बिहीबार बोल्ने नेताहरूले भ्रष्टाचारजस्तो गम्भीर अपराधमा अभियोग लागेका नेता खाणलाई पार्टीले आफ्नो सदस्यबाट निलम्बन गरेर अपराध अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने माग गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर पुर्पक्षका लागि कारागार चलान भएका खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने विषयमा कांग्रेसका पदाधिकारीहरू नै विभाजित छन् ।
महामन्त्री गगन थापासहित नेताहरूले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग गर्दा संस्थापन पक्षका नेताहरू भने खुलेआम खाणको बचाउमा उत्रिएका छन् । जसकारण सभापति शेरबहादुर देउवाले प्रभावशाली महामन्त्रीसहित नेताहरूले कारबाहीको प्रस्ताव ल्याउँदा समेत बेवास्ता गरेर टार्दै आएका छन् ।

खाणलाई कारबाही गर्ने विषय केन्द्रीय कार्यसमिति बैठकमा छलफलको विषय बनाउने वा नबनाउने भन्ने विषयमै विवाद भएको थियो । सभापति देउवाले त्यस्तो प्रस्ताव ल्याउन अस्वीकार गरेपछि महामन्त्रीहरूले ल्याएको औपचारिक प्रस्तावमा त्यो विषय छैन । तर, बैठकको तेस्रो दिन भने बैठकमा खाणलाई कारबाही गरेर उनीमाथिको छानबिनमा सहयोग पुर्‍याउनुपर्ने माग उठेको हो ।

बिहीबारको बैठकमा नेताहरूले खाणको पक्ष र विपक्षमा हुने गरी विभाजित भएरै धारणा राखेका छन् । तर बिहीबारसम्म खाणलाई पार्टीबाट निलम्बन नै गर्नुपर्छ भन्ने स्वर कमजोर छ । केन्द्रीय कार्यसमितिका १५६ सदस्यमध्ये बिहीबारसम्म ७५ जनाभन्दा धेरै सदस्यहरूले बोलिसक्दा संस्थापन पक्षका नेताहरूले खाणको बचाउ गरेका छन् भने संस्थापनइतर पक्षका नेताहरूले कारबाही गरेर अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने माग गरेका छन् ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भ्रष्टाचारजस्तो गम्भीर अभियोग लागिसकेपछि त्यसबारे पार्टीले प्रस्ट धारणा दिनुपर्ने बताए । ‘हाम्रै पार्टीसहित गठबन्धनको सरकार छ, अनि हाम्रै पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई प्रहरीले मुद्दा चलाएर अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ,’ बैठकमा शिवाकोटीले भने, ‘सभापतिज्यू, यदि उहाँलाई अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट बाहिरिनुपर्‍यो, होइन भने आफ्नै साथीहरू संलग्न भएको सरकारले थुनामा पुर्‍याउँदा पार्टीले सदस्यबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

उनले सो प्रकरणमा पार्टीले आफ्ना नेता कार्यकर्ता र मतदातामाझ प्रस्ट सन्देश दिनुपर्ने माग गरे । ‘यो प्रकरणमा कि थुनामा पठाउने सरकार दोषी छ, कि थुनामा रहेका खाण दोषी छन्, यसबारे पार्टीले आफ्नो धारणा प्रष्ट पार्नुपर्छ,’ शिवाकोटीले अघि भने, ‘यदि खाण निर्दोष हुन् भन्ने पार्टीको निष्कर्ष हो भने सरकारबाट बाहिरिएर न्याय मागौँ । नभए सुशासनको हिमायति ठान्ने कांग्रेसले कुनै पनि भ्रष्टाचारीलाई काँध हाल्न मिल्दैन ।’

अर्का केन्द्रीय सदस्य प्रकाश स्नेहीले भ्रष्टाचारजस्तो गम्भीर अपराधका विषयमा कांग्रेसले मुख थुनेर बस्न नमिल्ने बताए । ‘बितेको तीन दशकमा अधिकांश समय कांग्रेस सरकारमा छ, तर अहिलेसम्म पनि देशमा विकास र सुशासन कायम किन भएन भन्दा हामीसँग जवाफ छैन,’ उनले भने, ‘यो वा त्यो विषय भन्ने कुरा छैन, भ्रष्टाचारजस्तो गम्भीर अपराधका सवालमा पार्टीले प्रस्ट धारणा दिनुपर्छ, म यही वर्ष भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउन प्रस्तावसमेत गर्दछु ।’

केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले भ्रष्टाचार प्रकरणमा पार्टीका नेताहरू मुछिँदा कांग्रेसको नाम लिएर गाउँ जान सक्ने अवस्था नभएको बताए । ‘अहिले भ्रष्टाचार र सुशासनको मुद्दा प्रमुख बनेको छ, कांग्रेसको नाम लिएर गाउँ जाने स्थिति छैन । मुख देखाउन असहज भइरहेको छ । यसमा पार्टीको धारणा के हो ? यो बैठकले प्रस्ट पार्नुपर्छ,’ उनले भने ।

अर्का केन्द्रीय सदस्य मधु आचार्यले पनि कांग्रेसलाई भ्रष्टाचारमुक्त बनाउन अभियान चलाउनुपर्ने बताए । ‘भ्रष्टाचारीलाई संरक्षण होइन, सामान्य प्रोत्साहन समेत गर्न मिल्दैन, पार्टीको नेता कार्यकर्ता होइन, कोही पनि भ्रष्टाचारीको पक्षमा हामीले सद्भावसमेत राख्न मिल्दैन,’ उनले भने, ‘देशलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हामीले सुशासनका पक्षमा प्रस्ट योजना दिनुपर्छ ।’

बैठकमा बुधबारदेखि सुरू भएको खाणको बचाउ अभियान भने बिहीबार पनि निरन्तर रह्यो । केन्द्रीय सदस्य उदय शमशेर राणाले पार्टीमा आफ्नै साथीलाई समस्या पर्दा पनि खुच्चिङ भन्ने संस्कार देखिएकोप्रति आपत्ति जनाए । ‘आफ्नै पार्टीको साथी समस्यामा पर्दाखेरि पार्टीभित्रकै साथीले खुच्चिङ भन्ने काम पनि गरिरहनुभएको छ, त्यो नगर्नुहोला । हामी एउटै परिवार पनि हो,’ उनले भने ।

केन्द्रीय सदस्य सरस्वती बजिमयले सत्यतथ्य टुंगो नलागेसम्म कसैले पनि कोही व्यक्तिको चिरहरण गर्ने गरी सामाजिक सञ्जालमा अनेकथरी लेख्न नहुने बताइन् । ‘अहिले सामाजिक सञ्जालबाट सत्यतथ्य नबुझी अडियो/भिडियो सेयर गरेर व्यक्तिको चीरहरण गर्ने क्रम बढेको छ । यसरी त कांग्रेस कसरी बलियो हुन्छ ?,’ उनको प्रश्न थियो ।

अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले अदालतको फैसला नआए पनि कुनै पनि मुद्दामा पक्ष-विपक्ष भएर सार्वजनिक बहस गर्न नमिल्ने बताए । ‘आरोप लाग्नु भनेको अभियोग हो । अभियोग लाग्दैमा कोही पनि दोषी हुदैन,’ उनले भने, ‘अदालतले फैसला नदिएसम्म कसैलाई पनि पार्टीले दोषीको व्यवहार गर्न मिल्दैन ।’

संस्थापन पक्षका अधिकांश नेताहरूले सांकेतिकरुपमा खाणलाई पक्षपोषण हुने गरी धारणा राखेका छन् । खाण पार्टी परिवारको सदस्य भएको र उनीमाथि आरोप लाग्दा बचाउ गर्नु पार्टीको दायित्व बन्ने उनीहरूको तर्क छ । केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम चल्नेछ ।साभार:इकान्तिपुरबाट

Related posts

गगन थापा भन्छन् : प्रधानमन्त्री हुन्छु भन्ने आभास भइरहेको छ

MadhesKhabar

जेनजीको नयाँ दल खोल्ने घोषणा गरेका मिराज ढुंगानाले भने : हाम्रो बटमलाइन पूरा नगरेसम्म चुनावमा भाग लिँदैनौँ

MadhesKhabar

पर्साका ३ वटा निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, एउटामा विवाद कायमै

MadhesKhabar

Leave a Comment