बारा,१४ असोजः नेपाली कांग्रेस बारा क्षेत्र नंबर ४ को क्षेत्रीय सभापतिमा युवा नेता लोकेश सिंह सर्वसम्मत् चयन भएका छन्। जीतपुरमा जारी क्षेत्रीय अधिवेशनबाट सिंह क्षेत्रीय सभापतिमा सर्वसम्मत् चयन भएका हुन्।
क्षेत्रीय सभापतिमा सिंह र विजय यादव आकांक्षी थिए। लामो समयको रस्साकस्सीपछि सिंहको नाममा सहमति जुटाइएको हो। सिंहलाई क्षेत्रीय सभापति बनाउन कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर लागिपरेका थिए।
केही महिनाअघि शेरबहादुर देउवा निकट निलम्बित सभापति राजेश राय यादवलाई छोडेर सिंह गगन थापा निकट मन्सुरको पक्षमा खुलेका थिए। उनी नेपाली कांग्रेस भित्र सम्भावना बोकेको युवा नेताको रुपमा परिचित छन् । सिंहलाई क्षेत्रीय सभापति बनाउन केन्द्रीय सभापति थापा पक्षधरका स्थानीय नेताकार्यकर्ता सकारात्मक देखिएका थिए।
सिंह सभापति भएसँगै अर्का आकाक्षी गुप्तालाई भने क्षेत्र नं. ४ (२) को सभापति चयन गरिएको छ। यसैगरी क्षेत्र नं. ४ (१)को सभापतिमा छविलाल शर्मा चयन भएका छन् । जीतपुरसिमरा उपमहानगर समितिका निवर्तमान नगर सभापति शर्माले पुनः नगरमै आउने इच्छा राखेका थिए । तर अन्तिम समयमा क्षेत्र नं. ४ (१)को सभापति बनाउने आश्वासन दिएर रमेश पण्डितलाई नगर सभापति बनाइएको थियो।
संघ र प्रदेश निर्वाचन क्षेत्रको सभापतिको टुंगो लागेसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, क्षेत्रीय समितिको अन्य पद टुंगो लगाउन कार्यदल गठन गरिएको छ । कार्यदलमा क्षेत्रीय सभापति सिंह, क्षेत्र नं. ४ (२) को सभापति गुप्ता, युवा नेतृ मेघा शाही, युवा नेता नवराज त्रिपाठी छन् । कार्यदलले गरेको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको छ।

