वीरगन्ज ,२९असार: वीरगन्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत १५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।सडक, फुटपाथ, खाली जग्गामा जथाभावी फोहर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले गत पुस १७ देखि जथाभावी फोहर फ्याक्नेहरुलाई कारबाही गरि जरिवाना तिराउन थालेको हो ।
हालसम्म जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी पाँच सय ७० जनाबाट जरिवानाबापत १४ लाख ९५ हजार २ सय पाँच रुपैयाँ राजस्व सङ्कलन भएको महानगरपालिकाको सरसफाइ महाशाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।
स्वच्छ, सफा र सुन्दर महानगर बनाउने उद्देश्यले महानगरले गत पुसदेखि जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन अभियान थालेयता नियमित राजस्व सङ्कलन गर्दै आएको उनले बताए । “घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याक्ने स्थानीयको प्रवृति छ”, प्रमुख मियाँले भने, “त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यस अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दासमेत चलाउने योजना बनाइएको उनले जानकारी दिए ।
प्रमुख मियाँका अनुसार महानगरले निजी संस्थासँग सहकार्य गरी ३२ वटै वडाभित्र दैनिक तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिकाले वीरगन्जस्थित पृथी तारा एमके इनरनेशनल जेभिसँग विसं २०७६ जेठ २ मा सम्झौता गरी नियमित सरसफाई गर्दै आएको उनको भनाइ थियो ।
“महानगरका मेयरको योजना अनुरुप सफा र सुन्दर वीरगन्ज नगरबासीलाई दिने गरी काम गरिरहेका छौँ”, प्रमुख मियाँले भने, “उक्त योजना अनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला तथा सडक सरसफाइ भइरहेको छ ।” उनका अनुसार नालाको सफाइ महानगरले गरिरहेको छ भने सडकको सफाइ साझेदार संस्था पृथी ताराले गरिरहेको छ । “पहिला महानगरसँग नाला सफाइ गर्न लागि एउटा ‘जेटिङ मेसिन’ र एउटा ‘सक्सन मेसिन’ थियो”, शाखा प्रमुख मियाँले भने, “अहिले थप एउटा/एउटा मेसिन खरिद गरी नाला सरसफाइ अभियानलाई तीव्रता दिएका छौँ ।” साइरन जडित ट्याक्टर फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएको उनको भनाइ थियो ।
विगतमा महानगरसँग डम्पीङ साइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या भएको जनाउँदै प्रमुख मियाँले चार वर्षअघि डम्पिङ साइड निर्माण गरेपछि फोहरमैला व्यवस्थापनमा कुनै समस्या नरहेको बताए ।रासस

