Madhes Khabar
राष्ट्रिय हेडलाइन

नागरिकता पाएपछि ´खुशीकाे सीमा नाघेकाहरुकाे` कथा

जिल्ला प्रशासन कार्यालय पर्साबाट बंशजकाे नागरिकता लिएपछि जन्मसिद्ध नागरिकका सन्तानहरु।फाेटाे: फेसबुकबाट

माधुरी महताे
वीरगन्ज ,१६असार: काठमाण्डूको माइतीघरमा धर्ना समेत बसेका पर्साका विवेक रौनियारलाई नागरिकता पाएपछि खुशीको सीमा छैन।

नागरिकता पाएको खुसियालीमा उनले जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारी लगायतलाई मिठाई समेत खुवाए।

वीरगन्ज महानगरपालिका- १६ का २६ वर्षीय विवेक यसअघि नागरिकता नभएकै कारण भविष्यबारे योजना बनाउन नपाएको दुखेसो सुनाउँछन्।

नागरिकता पाएपछि अब नेपालबाहिर पढ्न जाने र अध्ययन सकेपछि सरकारी जागिरका लागि भिड्ने सपना पूरा हुने देखेर उनी औधी खुशी छन्।

नागरिकता लिने क्रममै भेटिएका विवेकले भने, “करिब १० वर्षको सङ्घर्ष र अनागरिक भएर बाँच्नु परेको पीडाबीच आज पाएको नागरिकताले केही हदसम्म मलमको काम गरेको छ।”

“मेरा साथीहरूभन्दा अध्ययनमा केही वर्ष पछि त परेँ, तर ढिलै भए पनि अब देशबाहिर गएर उच्च शिक्षा हासिल गर्ने मेरो र परिवारको धोको पूरा हुने भएको छ।”

“म आफ्नो खुशी व्यक्त गर्न सकिरहेको छैन। मेरी आमा झन् खुशी हुनुहुन्छ। उहाँको सङ्घर्षले फल दिलाएको छ।”

हाल विराटनगरमा एमबीबीएस अध्ययनरत वीरगन्जकी स्नेहा मित्तलले पनि नागरिकता नहुँदा कम सास्ती बेहोर्नु परेन।

‘नागरिकताविहीन भएर पढ्नुपर्दा’

वीरगन्ज महानगरपालिका- ९ गहवाकी २४ वर्षीया स्नेहाले भनिन्, “यो नागरिकता पाउन मैले ६ वर्ष सङ्घर्ष गर्नुपर्‍यो। विराटनगरमा अहिले एमबीबीएस पढिरहेकी छु। नागरिकता नहुँदा त्यहाँसम्म अध्ययनका लागि मैले र मेरा बुवाआमाले निकै सङ्घर्ष गर्नुपर्‍यो।”

“अब कलेजमा नागरिकता पेश गरेपछि बल्ल मेरो अध्ययनले आधिकारिकता पाउने भयो। पढिरहेकी भए पनि मैले मार्कशीट पाउने आधार नै थिएन। त्यसपछिका अवसर र भविष्य झन् निश्चित थिएन। पीर लिएरै पढ्नुपरेको थियो।”

नागरिकताकै लागि आफ्नी छोरीले जस्तो अरू कसैका छोराछोरीले सास्ती बेहोर्न नपरोस् भनी कामना स्नेहाका बुवा शङ्कर मित्तल गर्छन्।

“अब मेरा लगायत धेरैका सन्तानको भविष्यको बाटो खुल्यो। कक्षा १० सम्म खासै समस्या नपरे पनि त्यसपछिको अध्ययनका लागि मैले कलेजमा भर्नाका लागि खुट्टा समेत ढोगेँ।”

“धेरै चुनौती झेलेर नाबालिक काजगपत्रका आधारमा मेरी छोरी पढिरहेको अवस्था थियो। छोरीले अहिले नागरिकता पाएपछि म भावुक भएको छु। मेरी छोरीले नागरिकताकै चिन्ता लिएर पढ्नुपर्ने बाध्यता अब रहेन।”

उनका अनुसार जेठा छोराछोरीको नागरिकता भए पनि कान्छी छोरीको मात्र नागरिकता बन्न पाएको थिएन।

शङ्करले अगाडि थपे, “नागरिकता नै नदिएर आफ्नै देशका नागरिकलाई दुःख दिनु हुँदैन। नागरिकताबारे अहिलेको व्यवस्था नगरिएको भए धेरैको भविष्य अन्धकार हुने थियो। त्यसैले उमेर पुगिसकेका नागरिकलाई समयमै नागरिकता दिन सक्नुपर्छ।”

पर्साकै सखुवापर्सौनीकी प्रियङ्का साहको नागरिकता नपाउँदाको दुःखको कहानी विवेक र स्नेहाको भन्दा कम छैन।

“कक्षा १२ उत्तीर्ण गरेपछि देशबाहिर गएर उच्च शिक्षा हासिल गर्ने मेरो अनि मेरो परिवारको सपनामा तीन वर्षजति बन्देज लाग्यो। मेरो अध्ययनमा तीन वर्ष ब्रेक नै लाग्यो,” उनले भनिन्।

“यसबीचमा नागरिकताका लागि सङ्घर्ष जारी थियो। अहिले नागरिकता पाएपछि मेरो खुशीको सीमा नै छैन। नागरिकता पाएपछि म पनि आधिकारिक रूपमा देशकी नागरिक भएँ। उच्च शिक्षाका लागि आवेदन दिने तयारीमा अब जुट्छु।”

नयाँ व्यवस्था लागु भएर नागरिकता पाउन थालेपछि विवेक, स्नेहा र प्रियङ्का जस्ता थुप्रै नागरिकको मुहारमा अहिले खुशी छाएको छ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरूमा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकहरूको भिड बढेको छ।

नयाँ नागरिकता ऐन अनुसार शुक्रबारसम्म मधेस प्रदेशका जिल्लाबाट जन्मसिद्ध नागरिकका ३ हजार ३ सय १५ जना सन्तानले वंशज नागरिकता लिएका अधिकारीहरूले बताएका छन्।

नागरिकता पाउनका लागि शुक्रबारसम्म ११ हजार जनाभन्दा बढीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

जिप्रकामा भिड

गत बिहीवार वीरगन्जस्थित पर्सा जिल्ला प्रशासन कार्यालय पुग्दा नयाँ नागरिकता लिनेहरूको भिड देखियो।

ग्रामीण क्षेत्रदेखि वीरगन्ज महानगरपालिकाकै विभिन्न वडाका अभिभावकहरू आफ्ना सन्तानसँग टन्टलापुर घाममा नागरिकताका लागि लाइनमा बसेका थिए।

नागरिकता प्राप्त गरेपछि खुशी व्यक्त गर्दै कतिपयले वर्षौँयता गरेको सङ्घर्षको मीठो फल पाएको बताए।

अधिकारकर्मीहरूका अनुसार नयाँ संविधानमा जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था गरिए पनि कानुन नहुँदा नागरिकताबाट हजारौँ वञ्चित थिए।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै केही जिल्लामा अघिल्लो शुक्रवारदेखि नै नागरिकता दिन थालिएको भए पनि अधिकांश जिल्लामा गत आइतवारदेखि थालिएको अधिकारीहरूले बताएका छन्।

पर्साबाट शुक्रबारसम्म जन्मसिद्ध नागिरकका ६ सय ७० जना सन्तानले नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनका अनुसार नयाँ नियम अनुसार नागरिकता लिनका लागि शुक्रबारसम्म ५ हजार ८ सय ५५ जनाले आवेदन दिएका छन् ।

रौतहटबाट शुक्रबारसम्ममा नयाँ नागरिकताका लागि २ सय ३७ जनाले आवेदन दिएकोमा १ सय ५५ जनाले नागरिकता लिएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए।

 

सर्लाहीका सहायक प्रमुख जिल्ला अधकिारी होमप्रसाद घिमिरेका अनुसार त्यहाँ शुक्रबारसम्म ६ सय ७९ जनाले नागरिकता लिएका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार जिल्लामा नयाँ व्यवस्थानुसार शुक्रबारसम्म ३ सय २४ जनाले नागरिकता प्राप्त गरेका र १ हजार ५ सय जनाले आवेदन दिएका छन्।

महोत्तरीबाट ५ सय ५२ जनाले नागरिकता लिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले बताए।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार शुक्रबारसम्म ५ सय ६ जनाले नागरिकता लिएका र ३ हजार ५ सय ९० जनाले आवेदन दिएका छन्।

सिराहामा शुक्रबारसम्म ४ सय ६ जनाले नागरिकता लिएका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए।

सप्तरीकी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार त्यहाँबाट १ सय २० जनाले नागरिकता लिएको छन्।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार देशभरि एक लाख ८५,३९० जनाले जन्मसिद्ध नागरिकता लिएका विवरण जिल्ला प्रशासन कार्यालयहरू पठाएका छन्।

नागरिकता लिनेहरूको भिडलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयहरूले टोकन प्रणालीबाट सेवा दिन शुरू गरिएको बताएका छन्।

तर अधिकाशं जिल्ला प्रशासन कार्यालयलमा नयाँ नागरिकता लिनेहरूको भिड भएपछि अरू काम प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अन्य सेवा प्रभावित नहोओस् भनेर गृह मन्त्रालयले जनशक्ति थप गर्ने तयारी गरेको र छिटै परिपूर्ति गरिने आवश्वासन समेत आफूहरूले पाएको अधिकारीहरूले बताएका छन्।

Related posts

पर्साबाट भारतमा चरेस र गाँजा तस्करी गर्ने एक महिलासहित तीन भारतीय पक्राउ

MadhesKhabar

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु, २४ घाईते

MadhesKhabar

सबैको साथले मात्रै वीरगन्ज व्यवस्थित बनाउन सकिन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment