Madhes Khabar
राजनीति

गगन थापाको प्रस्ताव : प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने

काठमाडौं, १३ असार : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न पार्टीभित्र बहसको प्रस्ताव गरेका छन्।

दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि छलफल गरिनुपर्ने बताए।

‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्ने?,’ कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को प्रथम क्षेत्रीय सम्मेलनमा थापाले भने, ‘एमालेले विभिन्न नाममा संगठन बनायो भनेर प्रतिस्पर्धामा हामीले पनि कांग्रेस बनाउनु पर्छ भन्ने होडमा शिक्षा क्षेत्र तहसनहस भयो, मानिसहरू त्यो कारणले गर्दा रिसाएका छन्।’

थापाले राखेको यो प्रस्ताव पार्टीभित्र औपचारिक रूपमा छलफलमा प्रवेश पाइसकेको छैन। कांग्रेसले विगत ११ महिनादेखि केन्द्रीय समिति बैठक नै राखेको छैन।

त्रिभुवन विश्वविद्यालयलगायत कुनै पनि विश्वविद्यालयका प्राध्यापक अब कांग्रेसको औपचारिक सदस्य बन्न नपाउने गरी छलफल अघि बढाउनुपर्ने उनले बताए।

‘पार्टीभित्र यो बहस किन नगर्ने?, राम्रो पढाउने प्राध्यापक राजनीतिमा आउन चाहे राजीनामा दिएर आउन सक्छन्। यो पटक हाम्रो वडामा आएर वडाध्यक्ष, मेयर लडदिनुहोस भनेर भनौंला,’ उनले भने।

विभिन्न पेशामा लागेका व्यक्तिहरू राजनीतिमा आउन चाहे उक्त पेशा छाडेर आउन सक्ने बाटो खुला नै रहेको उनले बताए।

नेविसंघले प्राध्यापक वा शिक्षक कुटेका र कालोमोसो दलेका खबर आउने गरेको भन्दै थापाले यस्ता विषयले आफूलाई चिन्तित बनाउने गरेको बताए।

‘मेरो कुरा मानेन भनेर म अर्काको शरीरमा गएर मोसो दल्न पाउँछु? कुनै पनि व्यक्ति प्राध्यापक होस् वा कसैलाई पनि होस, मेरो कुरा मानेन, चित्त बुझेन भनेर मैले ऊ माथि गएर आक्रमण गर्न पाउँछु? पाउँदिनँ,’ उनले भने, ‘यो कालो मोसो दल्ने, प्राध्यापक कुट्ने विषयको सन्दर्भमा कुनै किन्तु परन्तु हुँदैन। त्यो गलत हो।’

२१ औँ शताब्दीको कांग्रेसको नेता हुन्छु भन्नेले आफ्नो कुरा स्थापित गर्न तालाबन्दी र तोडफोड नगरी सत्याग्रह बस्न तयार हुनुपर्ने थापाले बताए। साभार : सेतोपाटी

Related posts

स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताउन महिलाहरु घरदैलोमा

MadhesKhabar

पर्सा–३ मा एमालेलाई झट्का : पूर्व प्रदेशसभा सदस्य गिरिसहितका १ सय बढी नेताहरु प्रचण्डको पार्टीमा प्रवेश

MadhesKhabar

सरावगी भन्छन् – बाहुबली र गुण्डागर्दी गर्नेहरुसंग सचेत रहनु होला

MadhesKhabar

Leave a Comment