Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज–पथलैयाको यात्रा अब सरर बिजुली बसमा

बारा, १२ असार : पूर्वपश्चिम राजमार्गको पथलैयाबाट औद्योगिक एवं व्यापारिक नगरी वीरगन्ज जान चाहने जोकोहीले अब विश्वस्तरीय बिजुली बसको सेवा पाउने भएका छन् । स्थानीय व्यवसायीहरुको अग्रसरतामा खोलिएको सुन्दर यातायातले पथलैया–वीरगन्ज औद्योगिक करिडोरको प्रवेशस्थल पथलैयादेखि वीरगन्जसम्म बिजुली बसको सेवा दिने भएको हो ।

सुन्दर यातायातले असार अन्तिम सातादेखि सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने सबै तयारी पूरा भएको जानकारी दिएको छ । निजी क्षेत्रको यो कम्पनीले बस सञ्चालन गर्न चार विद्युतीय बस ल्याइसकेको छ । यो करिडोरमा पर्ने बजारहरु पथलैया, सिमरा, जितपुर, परबानीपुर हुँदै वीरगन्जसम्मको यात्रा २५ किलोमिटर हुनेछ । यो बस व्यापारिक ६ लेन सडकमा चल्नेछ ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार संघीय सांसद किसान श्रेष्ठको आग्रहमा बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो । उनले असारको अन्तिम दिनतिर बस सेवा सुरु हुने पनि बताए । उनले भने, “अब हामी असारको अन्तिम साताको कुनै पनि दिन करिडोरमा बिजुली बस सञ्चालन गर्नेछौं ।” बिजुली बस जर्मनी प्रविधिमा चीनले उत्पादन गरेका हुन् । यी बस युरो मापदण्डका हुन् । यस्ता बस विश्वका सम्पन्न मुलुकमा समेत प्रचलनमा आएको र अन्तर्राष्टिय स्तरका भएको थापाले दाबी गरे ।

अहिले बिजुली बस चार्ज गर्नका लागि सिमरा क्षेत्रमा चार्जिङ स्टेसन बनाउने काम भइरहेको छ । कम्पनीका अनुसार स्टेसनको काम अन्तिम अवस्थामा पुगेको छ भने बस चीनबाट वीरगन्जमा आइसकेका छन् । ३५ सिट क्षमताका यी बसमा जिपीएस प्रविधि जडान गरिने छ । कम्पनीलाई केन्द्रीय कार्यालयबाट बस र यात्रुको मनिटरिङ गर्न सजिलो हुनेछ ।

कम्पनीले सिमरा क्षेत्रमा बनाउन लागेको चार्जिङ स्टेसन सौर्य तथा विद्युत दुवैको कनेक्सन हुनेछ । यसबाट अन्य निजी तथा सार्वजनिक सवारीसाधनले पनि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार तीनदेखि ५ रुपैयाँ प्रतियुनिट शुल्क लाग्नेछ । कम्पनीले चार्जिङ स्टेसनमा एटिएम, कोल्ड स्टोर, रेष्टरुम पनि बनाउने छ ।

निजी क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सुन्दर यातायात पहिलो कम्पनी हो । यो कम्पनीले देशका अन्य भागमा १९ वटा बस सञ्चालन गरेर सेवा दिँदै आएको छ । अहिले यो रुटमा सेवा विस्तार गरेको हो । आगामी आर्थिक वर्षभित्र देशका अन्य स्थानमा सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए ।

कम्पनी ऐनअनुसार चालक, सहचालकदेखि मनिटरिङ अपरेसन विभाग, चार्जिङ स्टेसनमा कार्यरत प्राविधिक कर्मचारी सबै माग भइसकेको कम्पनीले जनाएको छ । यातायात व्यवस्था विभागले तोकेको मापदण्डअनुसार अपांगता भएकका, वृद्धवृद्धा, विद्यार्थी लगायतलाई भाडामा छुट दिइने छ । सवारीको सुविधाअनुसार तीन तहको भाडादर रहे पनि लोकल बसको भन्दा भाडादर धेरै हुनेछैन । तराईको गर्मीमा बिजुलीको चिसो सुविधासहितको सेवा यात्रुलाई दिने लक्ष्य राखेको अध्यक्ष थापाले बताए ।

एयर कन्डिसनर सेवासहितका यी विद्युतीय बस वातावरणमैत्री रहेको कम्पनीको दाबी छ । बसमा यात्रा गर्दा टाउको नदुख्ने, रिगंटा नलाग्ने, बान्ता नहुने र आरामदायी यात्रा हुनेछ । कुनै प्रकारको इन्धन खपत नगर्ने भएकाले यो बस डिजेल गाडीको जस्तो चर्को ध्वनी रहित हुनेछ ।

करिडोरमा सञ्चालनलगत्तै कम्पनीले हेटौंडा–वीरगन्जमा २० सिटे ४ वटा बसले सेबा विस्तार गर्ने जनाएको छ, जुन बस भैरहवा भन्सारमा यही असार २५ गते आइपुग्ने बताइएको छ । साभार : कारोबार पत्रिकाबाट

Related posts

पर्सा–१ मा वडाध्यक्ष र पूर्व वडाध्यक्षसहितका जसपा नेताहरु एमालेमा प्रवेश,पूर्वमन्त्री यादवले गरे स्वागत

MadhesKhabar

लायन्स क्लब अफ इन्टरनेशनलको महाधिवेशन वीरगन्जमा हुने

MadhesKhabar

वीरगन्जको रक्त सञ्चार केन्द्रमा रगतकाे अभाव भएपछि ३९ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment