वीरगन्ज,९ पुसः भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगन्ज नाकाको सौन्दर्यकरणमा निरन्तर लागेको वीरगन्ज महानगरपालिकाले शंकराचार्य प्रवेशद्धारादेखि वीरगन्ज भन्सार क्षेत्रको सौन्दर्यकरणको काम पनि सुरु गरेको छ।
त्यसैक्रममा बुधबार शंकराचार्य प्रवेशद्धारा देखि वीरगन्ज भन्सार क्षेत्रको मुख्य सडकको दाँयाबाँण दुवैतर्फ सरसफाई गरी वृक्षारोपण गरिएको छ । यसअघि वीरगन्ज–रक्सौल नाकाको मितेरी पुल क्षेत्रमा सरसफाई, वृक्षारोपण र घाँस रोपेर सौन्दर्यकरण गरिरहेको वीरगन्ज महानगरपालिकाले बुधबार शंकराचार्य प्रवेशद्धारादेखि वीरगन्ज भन्सार क्षेत्रमा पनि वृक्षारोपण गरेको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र गिनसिटीको आयोजनामा भएको उक्त वृक्षारोपण कार्यक्रमममा बोल्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगन्जलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने अभियान निरन्तर जारी रहेको बताए । मेयर सिंहले वातावरण संरक्षण आजको आवश्यकता भएको भन्दै विकाससँगै प्रकृति संरक्षणमा सबै नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।भविष्यका पुस्ताका लागि स्वच्छ वातावरण छोड्नु अहिलेको पुस्ताको सामूहिक दायित्व भएको धारणापनि उनले राखे।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा बुधबार बिहान भएको वृक्षारोपण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी,वीरगन्ज भन्सार कार्यालयका कृष्णप्रसाद मैनाली,नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई,ट्राफिक प्रहरी निरीक्षक प्रमुख युवराज कटुवाल लगायतकाकोपनि सहभागिता थियो ।

