वीरगन्ज ,४असार: पर्साको बहुदरमाई नगरपालिकाको दशौ नगरसभा साेमबार सम्पन्न भएको छ । नगर सभाबाट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक पनि गरेको छ ।
नगरसभामा बहुदरमाई नगरपालिकाकी उपमेय। सुष्मा कुमारी कुशवाहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ करोड ८१ लख ६६ हजार ५ सय रुपैयाँ बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
बहुदरमाई नगरबासीको जनजीवनमा सकारात्मक परिवर्तनको अनुभुति गर्ने गरी स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर बनाउने विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको उपाध्यक्ष कुशवाहले बताइन् । शहरी पूर्वाधार निर्माण, कृषि विकास, पर्यटन प्रबर्दन, आधुनिक तथा व्यवसायिक शिक्षा, सर्वसुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा, उद्यमशीलता विकास तथा रोजगारी प्रबर्दन, सूचना प्रविधिमा आधारित कागजरहित सेवा प्रवाह र यातायात व्यवस्थापन लगायतका क्षेत्रलाई नीति तथा कार्यक्रममा नगरपालिकाले प्राथमिकता दिएको कुशवाहको भनाई छ ।
‘बहुदरमाई बासीको रहर, स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर’ भन्ने दीर्घकालिन सोच नगरपालिकाले लिएको कुशवाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । बृहत शहरी विकास गुरुयोजना र आवधिक नगर विकास योजना तर्जुमा गर्ने, नगरका सबै वडा र टोललाई सडक सञ्जालसँग जोडी आवागमनलाई सहज बनाइने, नाला तथा कल्भर्ट निर्माणलाई प्राथमिकता दिने, नगरका पोखरीको जिर्णाेद्वार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेे लगायतका योजनालाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नीति तथा कार्यक्रममा कृषि प्रयोजनका लागि किसानले प्रयोग गर्ने कृषि विद्युत मिटरको ४० प्रतिशत महशुल नगरपालिकाले ब्यहोर्ने पनि उल्लेख छ । नगरपालिकाभित्रका किसानहरुका साना तथा ठूला पशुहरुको विमा गर्ने योजना पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बहुदरमाई नगरपालिकालाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना पनि अघि सारिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउनेदेखि सामुदायिक विद्यालयमा नगरपालिकाको तर्फबाट सरसफाई गर्ने कर्मचारीको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नगरपालिकाभित्रका प्रत्येक मावि र निमाविमा किशोरीहरुलाई महिनावारी प्याड प्रयोग गर्नका लागि छुट्टै हाइजिन रुमको व्यवस्था गरिने उपाध्यक्ष कुशवाहले बताइन् । उनकाअनुसार महिला र बालबालिकाका साथ उपमेयर कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
युवाको हात, मेयरको साथ भन्ने नारासहित युवाहरुको सहयोगी समूह तयार गरी प्रत्येक वडामा युवासँग मेयर कार्यक्रम पनि सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीको अध्यक्षतामा भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाका साथै नगरसभा सदस्य, कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

