
वीरगन्ज, १७ जेष्ठ : नेपाली कांग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले मधेस प्रदेशमा प्रिबजेट छलफलकको अभ्यास सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य सिंहले मधेस प्रदेशमा प्रिबजेट छलफलको अभ्यास नभएको बताउँदै आगामी वर्षदेखि यसको सुरुवात गर्नुपर्ने सुझाव दिएका हुन् ।
उनले भने, ‘यसपटक प्रिबजेटको छलफल भएन, आगामी वर्षदेखि यसको अभ्यास होस् । आगामी बजेट बनाउँदा प्रदेश सांसद्को सिफारिसमा पनि प्रत्येक मन्त्रलायबाट योजना समावेश हुने व्यवस्था भयो भने प्रदेशसभाको विकासले गति लिन्थ्यो ।’
क्षेत्रीले मधेसका किसानहरुले भोगिरहेको मल अभावको विषयलाई पनि उठाउँदै भने, ‘मधेसमा मलको अभाव छ । यसको लागि सरकारले के गरिरहेको छ ? मलको बारेमा सरकारको दृष्टिकोण बारे स्पष्ट हुनुपर्छ । मलका विषयमा संसदमा उठेका प्रशन बारे सरकार जवाफदेहि हुनुपर्छ ।’ उनले संसद् बैठकका क्रममा उठेका अन्य प्रश्नको विषयमा पनि सरकार संवेदनशिल हुनुपर्ने सुझाव दिए ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पारित गरेको नागरिकता विधेयकका लागि उनलाई धन्यवाद दिँदै क्षेत्रीले भने, ‘अब नागरिकतावीहीन लाखौँ भाइबहिनिहरुले नेपालको नागरिक बन्ने सौभाग्य प्राप्त गर्छन । यसका लागि म पुनः राष्ट्रपतिज्यूलाई धन्यवाद दिन चाहन्छु ।’

