
वीरगन्ज,२१ बैशाख : वीरगन्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सियामा नगर विकास समितिले प्लटिङ गरेको जग्गा बिहीबारबाट नापजाँच गरेर छुट्याउन सुरु गरिएको छ ।
नगर विकास समितिले व्यवस्थित शहर विकास गर्न भन्दै २०४२ चैत २८ मै २६ विघा जग्गामा प्लटिङ गरेको थियो ।प्लटिङको बीचमा ६० फिटको फराकिलो बाटो र सहायक सडकहरु ३५÷३५ फिटको छुट्याएर नगर विकासले व्यवस्थित वस्ति बसाल्न खोजेको थियो । तर प्लटिङको जग्गा नगर विकास समितिसँग व्यक्तिहरुले खरिद गरेको भए पनि अहिलेसम्म त्यसमा वस्ति भने बस्न सकेको छैन ।
नगर विकास समितिले नक्सांकन गरेर प्लटिङ गरे पनि नापी कार्यालयले नापजाँच गरेर नक्सा छुट्याउन अवरोध गर्दा अहिलेसम्म पनि त्यहाँ वस्ति विकास हुन नसकेको जानकारहरु बताउँछन् ।
बिहीबारबाट भने नापी कार्यालय र महानगरपालिकाको संयुक्त टोलीले नापजाँचमा खटेर सडक तथा नाला छुट्याउने काम गरिरहेको छ ।यसअघि बुधबार जिल्ला प्रशासन कार्यालयमा नापी कार्यालयका प्रमुख नारायण श्रेष्ठले एक हप्ता भित्रमा प्लटिङको जग्गा नापजाँचको काम सक्ने लिखित प्रतिबद्धता जनाए अनुरुप बिहीबारदेखि काम अघि बढेको हो ।
टोलीले बिहीबार दक्षिण तर्फ ६० फिटको सडकका साथै ३५÷३५ फिटको ५ वटा सडक नापजाँच गरेर छुट्याइदिनुका साथै किलाकाटी समेत गरेको छ । एक हप्ता भित्र नापजाँच सक्ने गरी काम भइरहेको महानगरको नापी शाखाका प्रमुख देवलाल प्रसादले जानकारी दिए ।

