Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज भन्सारको राजश्व संकलनमा सुधार : ९ महिनामै १ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व उठ्यो

वीरगन्ज,८ वैशाखः वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना ( साउनदेखि चैतसम्म) मा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन, गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको भन्दा ९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा वीरगन्ज भन्सार कार्यालयले १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो । वीरगन्ज भन्सारले गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको ९ महिनामा १६ अर्ब २० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना ( साउनदेखि चैतसम्म) मा वीरगन्ज भन्सारले लक्ष्यको ८९ प्रतिशत राजस्व संकलन गरेको भन्सार कार्यालयका सुचना अधिकारी उदय सिंह विष्टले जानकारी दिए ।जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही ९ महिनामा भने वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८० प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको थियो ।

विष्टका अनुसार, गत चैत महिना मात्रै वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ९५ प्रतिशत अर्थात २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि गत आर्थिक वर्ष २०८१/८२ को चैतमा भने वीरगन्ज भन्सारले लक्ष्यको ८१ प्रतिशतमात्रै अर्थात १९ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन गरेकोे थियो ।

यस्तै गत फागुन महिनामा वीरगन्ज भन्सारले लक्ष्यको ९० प्रतिशतमात्रै अर्थात १९ अर्ब ३४ करोड रुपैयाँ र गत माघमा लक्ष्यको ८९ प्रतिशत अर्थात १८ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । जबकि गत आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा वीरगन्ज भन्सारले लक्ष्यको ७९ प्रतिशत अर्थात १९ अर्ब ३३ करोड रुपैयाँ र माघमा लक्ष्यको ८५ प्रतिशत अर्थात १८ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

मध्यपूर्वको युद्धको प्रभावका कारण अन्र्तराष्टिय बजारमा पेटोलियम पदार्थको मूल्यमा भारी बृद्धि भएका कारण त्यसको सकरात्मक प्रभाव केहि महिना यताको भन्सार राजस्व संकलनमा परेको विष्टले बताए ।वीरगन्ज भन्सारको सबै भन्दा बढी राजस्व पेटोलियम पदार्थबाट संकलन हुने गरेको छ । विदेशबाटै पेटोलियम पदार्थको मूल्य बढेर आयात भइरहेका कारण त्यसले राजस्व संकलनमा पनि बृद्धि हुन पुगेको विष्टले बताए ।यसका साथै सीमा नाकामा यसअघि हुदैं आएको राजश्व चुहावट नियन्त्रणमा सरकारी नीतिका कारणपनि राजस्व संकलनमा सुधार देखिएको उनले बताए ।

Related posts

बढ्याे किसानले बिक्री गर्ने धानकाे मूल्य

MadhesKhabar

मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारका रुपमा वीरगन्जकी पत्रकार माधुरी महतो सम्मानित

MadhesKhabar

एसईईको पहिलो दिनबाटै थालियो उत्तरपुस्तिका परीक्षण

MadhesKhabar

Leave a Comment