
काठमाडौं,१९ बैशाख : नेपालले एसिया कप क्रिकेटमा स्थान बनाएको छ । मंगलबार भएको खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधिसंगै एसिया कपमा पनि स्थान बनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूईएले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएको हे । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्कीले पनि अविजित ३६ रनको योगदान दिए ।
यसअघि सोमबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६÷९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । मंगलबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।
११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।
लगतै कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबावमा परेको थियो । तर गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।

