
वीरगन्ज,१८ बैशाख : वीरगन्जमा मानव सेवा आश्रमको आफनै सुविधा सम्पन्न भवन (मानवीय मन्दिर ) निर्माणको कार्य सोमबारदेखि सुरु गरिएको छ ।
वीरगन्ज महानगरपालिकाले वडा नम्बर १५ लक्ष्मणवामा उपलब्ध गराएको १८ कठ्ठा जग्गामा आश्रमको भवनको शिलान्यास एक वर्ष पहिले नै तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले गरेकोभएपनि भवन निर्माणको निर्माण कार्य भने सोमबारदेखि सुरु गरिएको हो ।
सोमबार मधेस विश्व विद्यालयका उपकुलपति एंव मानव सेवा आश्रम वीरगन्ज शाखाका संरक्षक डाक्टर दिपक शाक्यले हिन्दुधर्मको रितिरिवाज अनुसार पूजापाठ गरेपछि भवन निर्माणको काम विधिवत रुपमा सुरु भएको हो ।
आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताका अनुसार , करिब १५ करोड रुपैयाको लागतामा वीरगन्जमा करिब २ सय जना लक्ष्मीनारायण (आश्रीत) हरुलाई राख्न सक्ने क्षमताको आश्रमको सुविधासम्पन्न भवन निर्माण गर्न थालिएको हो ।
भवन निर्माणका लागि महानगरपालिकाले १८ कठ्ठा जग्गाका साथै २५ लाख रुपैया पनि उपलब्ध गराएको छ । यस्तै मधेस प्रदेश सरकारले ७५ लाख रुपैयाँ र मुख्यमन्त्री कार्यालयले छुट्टै ४० लाख रुपैया अहिले सम्म उपलब्ध गराएको गुप्ताले जानकारी दिए ।
भवन निर्माणका लागि अहिले सम्म करिब डेढ करोड रुपैया नगद सहयोग प्राप्त भइसकेको बताउदै गुप्ताले भने,‘ त्यहि रकमबाट तत्कालका लागि एक ठाँउको ब्लक निर्माणको काम सुरु गरेका हौं, यस्ता ब्लक ७÷८ ठाँउमा बन्छ ।
यसपछि दाताहरु खोज्दै भवन निर्माण कार्यलाई निरन्तर अगाडि बढाउदै लैजाने योजना रहेको उनले सुनाए । गुप्ताले भने,‘ भवन निर्माणका लागि दाताहरुको सहयोग आउने क्रम जारी छ , जसरी जसरी सहयोग प्राप्त हुदै जान्छ त्यसैअनुसार काम पनि अगाडि बढ्दै जान्छ ।उनले आश्रमको भवन निर्माण कार्य सम्पन्न हुन कम्तिमा पनि तीन चार वर्ष समय लाग्ने पनि बताए ।
वीरगन्जमा मानव सेवा आश्रमको शाखा विगत ६ महिना यतादेखि वीरगन्ज २५ सिर्सियास्थित प्रदेशसभा सदस्य रमेश कुर्मीले आफनो संसदीय कोषबाट निर्माण गरेको वृद्धा आश्रमको भवनमा सन्चालित छ । त्यसअघि मानव सेवा आश्रमको शाखा वीरगन्जको श्रीपुर स्थित भाडाको एक घरमा सन्चालित थियो । मानव सेवा आश्रममा अहिले मानसिक अवस्था ठिक नभएका , अपाङगता भएका , बृद्धबृद्धा , असहाय गरि ६० जना लक्ष्मीनारायणहरु आश्रीत रहेको गुप्ताले जानकारी दिए ।

