Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सामा हैजाविरुद्धको खोप अभियानमा ९० प्रतिशत सफलता

वीरगन्ज,२९कात्तिकःदोस्रो पटक अभियान सञ्चालन गरिएपछि पर्सामा हैजा रोगको महामारीविरुद्धको प्रतिकार्य खोप अभियानले ९० प्रतिशत सफलता पाएको छ । बिहीबार सम्पन्न अभियान अन्तर्गत कूल ९० प्रतिशत लक्षित जनसंख्याले खोप लिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

कात्तिक १३ देखि पुनः सञ्चालन गरिएको अभियान बिहीबार सम्पन्न भएको थियो ।छठ अघि सञ्चालित अभियानले ८४ प्रतिशत मात्र कभरेज पाएको थियो । हाल थप ७ प्रतिशत बढेर कभरेज ९० प्रतिशत पुगेको हो ।

ठाकुरले प्रायः जिल्लाका सबै स्थानीय तहमा उस्तै कभरेज देखिएको बताए । १० प्रतिशतले खोप नलिने कारणमा जागरुकता प्रमुख कारण रहेको उनले बताए । ‘खोप आफ्नै सुरक्षाको लागि हो भन्ने जागरुकता कतिपयमा देखिएन,’ उनले भने, ‘तीनले जति अनुरोध गर्दा पनि खोप लिनै मानेनन् ।’

छठ अघि सञ्चालन गरिएको खोप अभियानको क्रममा कूल ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप दिने लक्ष्य रहेकामा ५ लाख ४७ हजार ३ सय ११ जनाले मात्र खोप लिएका थिए । जिल्लाका १४ वटै स्थानीय तहमा एकैसाथ यो अभियान सञ्चालन गरिएकोमा सबैभन्दा बढी जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत र सबैभन्दा कम जिरा भवानी गाउँपालिकामा ७८ प्रतिशत कभरेज भएको थियो ।

छिपहरमाई गाउँपालिकामा ९३,बिन्दवासिनी गाउपालिकामा ९१, सखुवाप्रसौनी गाउँपालिकामा ८८, ठोरी गाउँपालिकामा ८६, पटेर्वासुगौली र धोबिनी गाउपालिकामा ८५/८५, पर्सागढी नगरपालिकामा ८४, पोखरिया नगरपालिकामा ८३, वीरगन्ज महानगरपालिकामा ८२ प्रतिशत सफलता मिलेको थियो ।

वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह आईसीजीसँग खोपको माग गरेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा पर्सा र बारामा यो अभियान सञ्चालन गरिएको थियो ।

इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई सातापछि ८२ प्रतिशत प्रभावकारी हुन्छ । गत भदौ ६ गतेदेखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको थियो । खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

अभियानमा १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएका थिए ।

हालसम्म वीरगन्ज महानगरमा १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी वीरगन्जको विभिन्न अस्पतालमा उपचारार्थ आएकोमा ती मध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको थियो । यस बाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको थियो । परीक्षणहरूबाट वीरगन्जको विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला परेको छैन । हाल सम्म वीरगन्जमा फैलिएको हैजाको श्रोत पनि पत्ता लाग्न सकेको छैन ।शंकर आचार्य/कान्तिपुर

Related posts

बारा २ मा रोकिएको मतगणना फेरि सुरु

MadhesKhabar

टि–२० विश्वकपमा भारतसंग पाकिस्तान फेरि पराजित

MadhesKhabar

वीरगन्ज चिनी कारखाना सन्चालनमा ल्याउने सरकारको घोषणा

MadhesKhabar

Leave a Comment