
काठमाडौं,२०फागुनः प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले प्रतिनिधिसभाको चितवन २ को रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय नसच्याएर बहिस्कार गर्ने चेतवानी दिएको छ । शनिबार आम जनता पार्टीले विज्ञप्ति जारी गर्दै उपनिर्वाचन गर्ने आयोगको निर्णयलाई पक्षपाती, द्वेष र हतारो भएको र त्यसलाई नसच्याएर उपनिर्वाचनमा भाग नलिने जनाएको छ ।
आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले चितवन–२ को उपनिर्वाचन तत्काल स्थगन गर्नुपर्ने र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त हुने क्षेत्रमा समेत एकैपटक चुनाव गर्नुपर्ने जनाएको छ ।
’मुलुकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट केही दिनभित्र नै कम्तीमा पनि थप १÷२ अन्य निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनैपर्ने सम्भाव्य अपरिहार्यतालाई समेत बेवास्ता गर्दै देशको महत्वपूर्ण समय र राज्य कोषमा दोहोरो भार एवं नकारात्मक असर पर्ने गरी गर्न लागिएको पक्षपाती एवं बदनियतपूर्ण निर्वाचनलाई तत्काल स्थगन गरी चितवन–२ र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि खाली हुने सबै निर्वाचन क्षेत्रहरूमा एकैपटक मितव्ययी ढंगले निर्वाचन गर्न गराउन आयोगसँग जोडदार माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ’हाम्रो मागको समयमै सुनुवाइ÷सम्बोधन नभए यस गलत निर्वाचनमा हाम्रो आम जनता पार्टी सहभागी नहुने विषय सबै पक्षमा अग्रीम जानकारी गराउन चाहन्छु ।’
सो दलले अघिल्लो प्रतिनिधिसभामा एक दर्जन स्थानमा रिक्त हुँदासमेत उपनिर्वाचत गर्न पटक–पटक ताकेता गर्दा पनि हतार नगरेको निर्वाचन आयोगले अमुक व्यक्ति र पार्टीलाई फाइदा पु¥याउन बदनियतपूर्ण उद्देश्यले उपनिर्वाचन गर्न हतारो गर्नु अनुचित भएको बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले नागरिकता पुनर्प्राप्तिको नगरेको भन्दै सर्वोच्च अदालतले उनको उम्मेदवारी खारेज गरेपछि चितवन–२ मा रिक्त भएको छ । निर्वाचन आयोगले वैशाख १० गते सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि लागि तालिका सार्वजनिक गरेको छ ।साभार : कान्तिपुर

