Madhes Khabar
राष्ट्रिय

तीन नेपाली महिला वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं ,२८माघ: तीन जना नेपाली महिला वैज्ञानिकले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय सुभांगी सुवेदी दाहाल र सुप्रिया शर्मा ‘अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) अवार्ड–२०२२’ बाट सम्मानित भएका हुन् । अवार्डको राशि ५०/५० हजार अमेरिकी डलर (करिब १ करोड ३१ लाख रुपैया) छ ।

सुवेदी त्रिचन्द्र क्याम्पस र शर्मा त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका उपप्राध्यापक हुन् । त्यस्तै, सेन्टर फर नेचुरल एन्ड एप्लाइड साइन्सेस (सीईएनएएस) की अनुसन्धानकर्ता बबिता पौडेल भट्टराईले ३० हजार युरो बराबरको ‘हम्बोल्ड रिसर्च अवार्ड’ पाएकी हुन् ।
दाहालले प्राप्त रकम पानी, खाद्य सुरक्षा, कृषि र माइक्रो प्लास्टिकको अध्ययनमा खर्च गर्ने बताइन् । ‘मेरो यो रकम नानो पार्टिकल्स बनाएर पानीको स्वच्छता मापन, खाद्य सुरक्षा, रसायनिक मल र माइक्रो प्लास्टिकको अध्ययनमा खर्च हुने छ,’ उनले भनिन् । आफूले प्राप्त गरेको रकमबाट स्नातक र स्नाताकोत्तर अध्ययन गर्ने करिब एक दर्जन विद्यार्थीलाई अनुसन्धान वृत्तिसमेत उपलब्ध गराउने उनको भनाइ छ । अवार्ड प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै उनले जिम्मेवारी थपिएको प्रतिक्रिया दिइन् । यस्तै, शर्माले एन्टिबायोटिक रेसिस्टेन्स सम्बन्धी अनुसन्धानका लागि अवार्ड पाएकी हुन् ।

सन् १९८७ मा स्थापना भएको अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभ्लोपिङ वर्ल्ड (ओडब्लूएसडी) वर्ल्ड एकेडेमी अफ साइन्सेस अन्तर्गतको संस्था हो । युनेस्केको एउटा प्रोगाम युनिटको रुपमा रहेको संस्थाले विज्ञान तथा प्रविधिको क्षेत्रमा बिद्याबारिधीपछि अनुसन्धान गरिरहेका विकासोन्मुक मुलुकका २५ जना महिला अनुसन्धानकर्तालाई अवार्ड प्रदान गर्दै आएको छ । स्वेदशमै अन्तर्राष्ट्रियस्तरको अनुसन्धानका लागि अवार्ड दिने गरिएको ओडब्लूएसडीको भनाइ छ । ५० हजार डलर राशीको यो अवार्ड पाएपछि अनुसन्धानकर्ताहरुले आफ्नो प्रस्तावित परियोजना तीन वर्षमा सम्पन्न गर्नुपर्ने हुन्छ ।

यसअघि उक्त अवार्ड शोभा पौडेल, हेमु काफ्ले, टिस्टा प्रसाईं, प्रतिभा पाण्डे र ज्योति भण्डारीले पाएका थिए । भट्टराईले हेम्बोल्ड रिसर्च अवार्ड पाउने पहिलो नेपाली महिला हुन् । जर्मनीको हम्बोल्ड फाउन्डेशनले हरेक वर्ष संसारका ५ जना अनुसन्धानकर्तालाई यो अवार्ड दिने गर्छ । यसवर्ष यो अवार्ड नेपालसहित, ग्रिस, इटाली, नाइजेरिया र चीनका महिला अनुसन्धानकर्ताले पाएका हुन् । अवार्ड रकम उनले नेपाली महिला अनुसन्धानकर्ताको क्षमता अभिवृद्धिका क्षेत्रमा दुई वर्षभित्रमा खर्च गर्ने छन् । ‘मलाई प्राउड फिल भएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरूको क्षमता विकास गर्ने किसिमको अवार्ड पाउदा गर्व महसुस गरेकी छु,’ उनले भनिन् । उनी सूक्ष्म जीव र नेपालमा पाइने जडिबुटीको औषधीय गुणको अध्ययन र अनुसन्धानमा पनि संलग्न छिन् ।साभार:कान्तिपुर

Related posts

पर्सा, बारा सहितका जिल्लाबाट नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिक पक्राउ

MadhesKhabar

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

MadhesKhabar

नागरिकता विधेयक रोकेकोमा ओलीले राष्ट्रपति भण्डारीलाई दिए धन्यवाद

MadhesKhabar

Leave a Comment