
मधेसखबर
वीरगन्ज, १८ बैशाख : स्थानीय तह निर्वाचनमा वीरगन्ज सहित ६ वटै महानगरपालिकाको मतपत्रमा राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिन्ह रहने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले वीरगन्ज सहित ६ वटै महानगरपालिकााका लागि मतपत्र छपाइ सुरू गरेको छ ।
यसअघि सुरूमा महानगरको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिन्ह रहने भनिएको थियो । यसो गर्दा गठबन्धन गरेका दलहरूले लाभ लिन सक्थे ।
तर निर्वाचन आयोगले कुनै दलले स्थानीय तहका प्रमुख देखि वडा सदस्य सम्मका ७ पद मध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा त्यो दलको लहरमा सातवटै चुनाव चिन्ह रहने बताएको छ ।
वीरगन्ज महानगरको मतपत्रमा पनि पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य र खुला दुई वडा सदस्यको गरि हरेक दलको ७ वटा चुनाव चिन्ह एउटै लहरमा राखिएको हुनेछ ।

