मधेसखबर
वीरगन्ज ,१९ मंसिर : सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताले आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार साँझ सम्पन्न गठबन्धनको बैठकपछि चार दलका शीर्ष नेताले विज्ञप्ति जारी गर्दै गठबन्धन आगामी दिनमा थप एकताबद्ध भएर अगाडि बढ्ने बताएका हुन् । प्रधानमन्त्री एंव कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष दुर्गा पाैडेलले विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् ।
‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
निर्वाचनका बेला कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना देखिएको चार दलका शीर्ष नेताहरुको भनाइ छ। ती असमझदारीबारे आगामी दिनमा थप समीक्षा गरिने उनीहरूले उल्लेख गरेका छन्।
मंसिर ४ को चुनावले गठबन्धनको आवश्यकता र सान्दर्भिकता थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।उनीहरूले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। ‘मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरूरी छ,’ उनीहरूले भनेका छन्।

