
मधेसखबर
वीरगन्ज,१६ मंसिर : नीजि विधालयमा अध्ययनरत विधार्थीका अभिभावकहरु शुक्रबार आफनो समस्या लिएर वीरगन्ज महानगरपालिकाको कार्यालयमा जादा सुरक्षाकर्मीले अवरोध गरेपछि केहि बेर सामान्य तनाव भएको छ ।
नीजी विधालयको मनोमानी विरुद्ध तीन महिना देखि संघर्षरत अभिभावक संघर्ष समितिको नेतृत्वमा गएका अभिभावकहरुलाई महानगरपालिका कार्यालयकै मूल प्रवेशद्वारमा नेपाल प्रहरी र सुरक्षाकर्मीले रोकेर छिर्न नदिएपछि सामान्य तनाव भएको हो ।
अभिभावक र सुरक्षाकर्मीहरु धकेलाधकेल हुदा महानगरपालिको मुख्य प्रवेशद्वार(गेट) मा क्षति समेत पुगेको छ ।सुरक्षाकर्मीले भित्र छिर्न नदिएपछि अभिभावक संघर्ष समितिका अध्यक्ष सन्दिप साहको नेतृत्वमा रहेका अभिभावकहरुले नाराबाजी पनि गरेका थिए ।
नीजी विधालयको शुल्कको हकमा महानगरपालिकाले गत असोज २५ गते तत्कालका लागि गरेको निर्णय नीजी विधालयले लागु नगरेपछि त्यस बारे ध्यानाकर्षण गराउन शुक्रबार जादाँ गेटमै नगरप्रहरी र नेपाल प्रहरीले छिर्न नदिएपछि तनाव भएको समितिका अध्यक्ष साहले बताए ।
उनका अनुसार असोज २५ गतेको निर्णयमा नीजी विधालयको बर्गिकरण गरि शुल्क निर्धारण नभए सम्म तत्कालका लागि अभिभावकले गत शैक्षिक सत्रमा तोकिएको शुुल्क अनुसार नै शुल्क बुझाउने उल्लेख थियो । तर उक्त निर्णय नीजी विधालयहरुले लागु नगरि ४५ प्रतिशत सम्म शुल्क बृद्धि गरि लिने अडान राखेपछि समितिले गत कार्तिक २ र १७ गते महानगरपालिकामा निवेदन दिएका थिए । तर आफुहरुले दुइ दुइ पटक निवेदन दिदा समेत कुनै सुनुवाइ नभएपछि शुक्रबार त्यस बारे ध्यानाकर्षण गराउन जादा गेटमै सुरक्षाकर्मीले रोकेर अभिभाावकहरु माथि ज्यादती गरेको समितिका अध्यक्ष साहको आरोप छ ।
अभिभावकहरु आफनो अडानबाट नहटेपछि इलाका प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक विशाल मल्लको रोहबरमा भएको छलफलमा आगामी सोमबार महानगरका मेयर राजेशमान सिंहको सहभागीतामा वार्ता गरेर निकास खोजिने सहमति भएको साहले बताए ।
यता वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा समेत रहेका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले भने अभिभावकको नाममा तथााकथित संघर्ष समिति बनाएकाहरुले आएर गेटमा हुल हुज्जत गर्न थालेपछि सुरक्षाकर्मीले रोक्दा सामान्य तनाव भएको बताए ।
उनले भने ,‘ मेयर साब अहिले क्रियामा बस्नु भएको छ , हाकीम साब पनि विदामा हुनुहुन्छ , म निमित्त मात्रै हो , त्यसका कारण आधिकारीक कुरा गर्ने व्याक्ति कोहि पनि छैन , मेयसर साब आएपछि कुरा गर्न आउनु होला भन्दा उनिहरुले हुलहुज्जत गर्न खोजे , मेन गेटमा सामान्य क्षति पनि भएको छ ।
कर्णले अभिभावककै माग अनुसार महानगरले नीजी विधालयहरुको वर्गिकरण गरेर शुल्क निर्धारण गर्ने प्रकृया अन्तिम चरणमा पुगिसकेको तर चुनावका कारण त्यसले मुर्त रुपमा पाउन नसकेको बताए ।आइतबार मेयर सिंह महानगरपालिकाको कार्यालयमा आउने त्यसपछि शिक्षा समितिको बैठक बसेर त्यसलाई टुङग्याइने उनले बताए ।नीजी विधालयहरुको बर्गिकरण र शुल्क निर्धारण गरिएपछि अभिभावकहरुको सबै गुनासो आफै सम्बोधन हुने पनि उनले बताए ।

