Madhes Khabar
राजनीति हेडलाइन

राजनीतिबाट सन्यास लिँदैछु : सांसद विमल श्रीवास्तव

मधेसखबर
वीरगन्ज ,०६ असाेज : पर्सा क्षेत्र नम्बर २ का सांसद एंव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विमल श्रीवास्तवले राजनीतिबाट सन्यास लिने बताएका छन् ।

लोसपा परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला उनले राजनीतिबाटै सन्यास लिन लागेको बताएका हुन् ।

केहिदिन अघि उनले चुनाव नलड्ने मनस्थिति मात्रै बनाएको बताएका थिए । लोसपाका कार्यकारिणी सदस्य समेत रहेका श्रीवास्तवले आफू राजनीति नै नगर्ने भन्ने निर्णयमा पुगेको बताए ।

‘राजनीतिमा नयाँ युथहरुलाई मौका दिनुपर्छ नि, सधैं हामी नै चुनाव लड्ने, सधैं हामीले नै पार्टीमा नेतृत्व गर्ने कुरा पनि त भएन नि’, उनले भने ‘त्यसैले राजनीतिबाट नै सन्यास लिने सोच बनाएको छु । बरु सामाजिक काममा लाग्छु । ’

५५ वर्षदेखि राजनीतिमा सक्रिय श्रीवास्तव एक पटक वडा अध्यक्ष, चार पटक मेयर, एक पटक सांसद र एक पटक मन्त्री समेत भइसकेका छन् ।

७३ वर्षीय श्रीवास्तवले स्वतन्त्र विद्यार्थी मण्डल संगठनबाट राजनीति सुरु गरेका थिए । पञ्चायतकालमा एकपटक वडाध्यक्ष र तीनपटक वीरगन्जको मेयर बनेका उनी बहुदल आएपछि पनि राजनीतिमा चर्चामा रहे ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि एक पटक वीरगन्जकाे मेयर बनेका थिए । २०४६ सालको जनआन्दोलनपछि राप्रपामा सक्रिय श्रीवास्तव गणतन्त्र आएपछि भने महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा गएका थिए ।

तमलोपा सहितको मधेसी दल मिलेर राष्ट्रिय जनता पार्टी बनेपछि उनी त्यसैमा सक्रिय थिए । तर २०७४ सालको स्थानीय चुनावमा वीरगञ्जको मेयरमा राजपाले राजेशमान सिंहलाई टिकट दिने भएपछि श्रीवास्तव विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा उठे । तर उनी पराजित भए ।

चुनावमा होमिनका लागि जुनसुकै तरिका अपनाउन सक्ने व्यक्तिको रुपमा परिचत उनी मेयरमा पराजित भएपनि रोकिएनन् । तत्कालै संघीय समाजवादी फोरममा प्रवेश गरेर पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडे । मेयरमा पराजित भएका उनी प्रतिनिधि सभा सदस्यमा भने विजयी भए ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्व सरकारमा १८ दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत बने । स्थानीय निर्वाचनमा वीरगन्जमा एमालेसँग चुनावी तालमेल गराउन सक्रिय भूमिका निर्वाह गरेका श्रीवास्तव हाल लोसपामा नै छन् । साभार: अनलाइनखबर

Related posts

प्रेस सेन्टर पर्साकाे अध्यक्षमा शीवनाथ यादव सर्वसम्मत चयन

MadhesKhabar

पर्साकाे ओैराहामा ११ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

MadhesKhabar

वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट हट्यो एसएसबीको चेकपोष्ट

MadhesKhabar

Leave a Comment