Madhes Khabar
अर्थतन्‍त्र

ठोरी भन्सार : भवन छ तर कर्मचारी बस्दैनन्

मधेसखबर
वीरगन्ज, १२ साउन : पर्साको ठोरी स्थित छोटी भन्सार कार्यालयमा नियमित कर्मचारी नबस्दा राजस्व संकलन प्रभावित भएको छ । भन्सारका लागि भव्य भवन निर्माण भए पनि कर्मचारी नहुँदा मासिक लाखौं रुपैयाँ राजस्व गुम्दै आएको हो ।

वीरगन्ज भन्सार कार्यालय मातहतको ठोरी छोटी भन्सारको नयाँ भवन २ वर्षअघि निर्माण भएको थियो । काठको जीर्ण भवनबाट विगत देखि छोटी भन्सार सञ्चालनमा आएको थियो । हाल सुविधा सम्पन्न कार्यालय निर्माण भइसक्दा पनि कर्मचारी नियमित नबस्दा सरकारलाई दैनिक राजस्व घाटा भइरहेको स्थानीय बताउँछन्  ।

 

ठोरी नाका भएर निजी सवारीसाधन मार्फत भारतीय पर्यटक सौराहा लगायत नेपालका अन्य गन्तव्यसम्म आउने गर्छन्  । भारतीय बजार भिखनाठोरी र नरकटियागञ्जबाट किनमेल गरेर ठोरी देखि चितवन सम्मका स्थानीय ठोरी नाका हुँदै फर्कने गरेका छन्  । भारतीय बजारबाट किनमेल गरेर फर्कनेहरुले लत्ताकपडा, बिजुलीका सामान, मोटर पार्टस् तथा अन्य दैनिक उपभोग्य बस्तु ल्याउने गर्छन् । भन्सार शुल्क बुझाउन खोज्नेले पनि त्यहाँ कर्मचारी नदेखेपछि राजस्व नबुझाई मालसमान लग्छन्  ।

 

ठोरीसम्म आउने भारतीय पर्यटक ठोरी भएर चितवन सौराहा हुँदै लुम्बिनी, पोखरा, काठमाडौंसम्म जाने इच्छा गरे पनि ठोरीमा भन्सारले भारतीय गाडीको नेपाल प्रवेश गर्ने अनुमतिसहित भन्सार नकाट्ने गरेकाले थुप्रै भारतीय पर्यटक दुःख मानेर फर्कने गरेको होटल तथा पर्यटन व्यवसायी सुदिप थापाले बताए ।

‘भारतीय पर्यटकले निजी गाडी लिएर नेपालका अन्य पर्यटकियस्थल घुम्न जान ठोरीबाटै सवारीसाधनको अस्थायी पैठारीको अनुमति लिन खोज्छन्,’ उनले भने, ‘हामीले उनीहरूलाई बाध्य भएर ६० किमी टाढा वीरगन्ज गएर त्यहाँबाट भन्सारको अनुमति लिएर वीरगन्ज हुँदै जान सुझाव दिन्छौं, तर उनीहरू मान्दैनन्  ।’

 

अर्का स्थानीय प्रकाश खनालले सरकारले महेशपुर र त्रिवेणी जस्तन नवलपरासीका नाकामा रहेका छोटी भन्सारलाई भारतीय सवारीको अस्थायी पैठारी अनुमति दिनेसम्मको अधिकार दिएपनि ठोरी भन्सार भने अझै कर्मचारी बिहिन बनाएर राखेको गुनासो गरे । ‘ठोरी नाकाबाट दैनिक ठूलो संख्यामा भारतीय पर्यटक ठोरी हुदै नेपालका अन्य स्थान पुग्न खोज्छन,’ उनले भने, ‘मधेस प्रदेश सरकारले यसै वर्ष ठोरीलाई प्रदेशकै पर्यटकिय स्थल घोषणासमेत ग¥यो तर पर्यटक भित्र्याउन भने कुनै पनि निकाय गम्भीर भएको देखिएन ।’

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ठोरी छोटी भन्सारमा एक नायब सुब्बा र एक कार्यालय सहयोगी गरी २ कर्मचारीको दरबन्दी रहेको र उनीहरू नियमित रूपमा कार्यालयमा पुग्ने गरेको दाबी गरे । उक्त नाकाबाट प्रायः सरकारले आयातमा रोक लगाएका वस्तुहरू बढी भित्रिने गरेकाले त्यस्ता वस्तुको भन्सार काट्न नमिल्ने उनले बताए ।

 

‘अधिकांशले सरकारले ब्यान्ड गरेका कुरकुरे, लेज, जुस ल्याउन खोज्छन्, कतिपयले एलसी खोलेर आयात गर्नुपर्ने वस्तु ल्याउन खोज्छन्,’ उनले भने, ‘त्यो सम्भव हुँदैन, म आफैंपनि केही दिनअघि त्यहाँ पुग्दा यस्ता धेरै बस्तु ल्याइएको पाए ।’ कतिपय बस्तु आयात गर्न अनुमति दिँदा पनि क्वारेन्टाइन गराउनुपर्ने खालका बस्तु हुने गरेको उनले बताए । भारतीय सवारीसाधनको अस्थायी पैठारी अनुमतिको हकमा वीरगन्ज भन्सार कार्यालय आफैंले त्यस्तो अनुमति दिन नसक्ने उनले बताए । साभार : कान्तिपुर

Related posts

सिर्सिया ड्राइपोर्टको रेल्वे लिक स्थानान्तरण

MadhesKhabar

प्रधानमन्त्री ओलीसंगै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालपनि चीन प्रस्थान

MadhesKhabar

नेपाल राष्ट्र बैंकको गर्भनरमा पौडेल नियुक्त

MadhesKhabar

Leave a Comment