Madhes Khabar
राष्ट्रिय

पर्वतीय समस्यालाई नेपालले अन्तराष्ट्रिय स्तरमा जोडदार रुपले उठाउनु पर्छ : वन मन्त्री यादव

मधेसखबर

वीरगन्ज,०६असार : वन तथा वातावरण मन्त्री प्रदीप यादवले सन्तुलित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिएका छन् ।

शुक्रबार वन मन्त्रालयले काठमाडौँमा आयोजना गरेको अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२ कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुसँगको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वन जङ्गल र वन्यजन्तुलाई संरक्षण गर्दै पूर्वाधार विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्ने बताएका हुन् ।

मन्त्री यादवले सडक र पूर्वाधार निर्माणको आफू बाधक नभएको र वन मन्त्रालयलाई आवश्यक विकासको काममा बाधा पूर्‍याउने काम कहिलयै नगर्ने बताए ।

‘विकास जरुरी छ तर वन जङ्गल पनि उतिकै आवश्यक छन् । हामीले दुवैलाई सन्तुलित राख्नु पर्छ,’ मन्त्री यादवले भने, ‘म विकासको बाधक होइन, सडक र पूर्वाधार निर्माणमा गर्न वन मन्त्रालय कहिलेपनि बाधक बन्दैन । सडक बन्न दिन्छु तर जङ्गल पनि मास्न दिन्न । सन्तुलन मिलाएर काम गर्दा वन मन्त्रालयको अवरोध हुँदैन ।’

उनले नेपालको ८० प्रतिशतभन्दा बढी भूभाग पहाडले ढाकिएको र बाँकी भागसमेत पर्वतीय प्रणालीसँग जोडिएको कारण पर्वतीय क्षेत्रको समस्या सम्पूर्ण नेपालको समस्या भएको बताए। अन्य देशमा गरिएका गतिविधिले भइरहेको जलवायू परिवर्तनको सिधा असर नेपालमा परेको कारण अन्तराष्ट्रिय समूदायले नेपालको पर्वतीय समस्या समाधानका लागि आवश्यक सहयोग गर्नुपर्ने उनले बताए ।

यादवले अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२ कार्यक्रमअन्तर्गत नेपालले यस वर्ष विभिन्न थप कार्यक्रमहरु आयोजना गरेर पर्वतीय मुद्दाको प्रचार प्रसार गर्नुका साथै अन्तराष्ट्रिय मञ्चहरुमा नेतृत्व लिन आगामी सेप्टेम्बरमा अमेरिकाक कोलोराडोमा हुने पर्वतीय साझेदारी विश्वव्यापी बैठक तथा जववायू परिवर्तन सम्बन्धी इजिप्टमा हुने सम्मेलनमा समेत नेपालको मुद्दालाई उठाउने बताए।

उनले भने ‘जलवायू परिवर्तनले पर्वतीय अर्थतन्त्र, जैविक विविधता, संस्कृति, जलवायू परिवर्तन, पर्वत-समथर अन्तरसम्वन्ध जस्ता विषयमा पारेका प्रभाव र त्यसको उचित सम्वोधनका लागि नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा लिनुपर्ने आदानका बारेमा हामीले राष्ट्रिय सहमति कायम गर्नुपर्ने छ । त्यसका साथै अन्तराष्ट्रिय मञ्चहरुमा पनि यी विषयहरुलाई मैले जोरदार ढङ्गले उठान गर्ने छु’  ।

मन्त्री यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जलवायू परिवर्तनको विषयमा नीति निर्माण गर्नेहरुले गम्भीरतापूर्वक लाग्नुपर्ने बताए। नेपाल ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) को सदस्य बनेको बताउँदै सभामुख सापकोटाले आफू यस्तो संस्थाको सदस्य राष्ट्र नेपाल पनि बनेकोमा खुसी लागेको बताए। जीजीजीआइको सदस्यताले जलवायू परिवर्तनसँग लड्न नेपाललाई ठूलो आधार मिलेको उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा उपसभामुख पुष्पा भुसाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समीतिकी सभापति पूर्णा कुमारी, प्रतिनिधिसभा सदस्यहरुहरुले आफ्नो मन्तव्य राखेका थिए भने वन तथा वातावरण मन्त्रालयका सचीव डा. पेम नारायण कँडेलले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी वन मन्त्रालयका सहसचिव डा. सिन्धु प्रसाद ढुङ्गानाले अन्तराष्ट्रिय दिगो पर्वतीय विकास वर्ष कार्यक्रम बारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए।

Related posts

पूर्व राष्ट्रपति यादवको टिप्पणी : कांग्रेसको अवस्था राम राम भन्नुपर्ने बेला भइसकेको छ

MadhesKhabar

अर्थमन्त्री महत भन्छन् : अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन

MadhesKhabar

उम्मेदवारको मृत्यु पछि कहा कहा निर्वाचन सरयो ?

MadhesKhabar

Leave a Comment