Madhes Khabar
स्वास्थ्य

काठमाडौं उपत्यकाका १० ठाउँमा हैजाको संक्रमण पुष्टि

मधेसखबर
वीरगन्ज,१४असार: काठमाडौँ उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएपछि विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी नअपनाए स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् ।काठमाडौं उपत्यकाका १० ठाउँमा १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।

दुई साता अघि बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा पहिलो पटक हैजा देखिएको थियो । त्यसयता यसको संक्रमण क्रमशः विस्तार हुने क्रममा छ । डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप र कोटेश्वरमा हैजा पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बिरामीको संख्या वृद्घि हुँदै गएको बताए । उनका अनुसार पाटन अस्पताल र वयोधा अस्पतालमा एकएक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जना हैजाका बिरामी उपचाररत छन् ।

प्रदूषित पानी र स्ट्रिट फुडका कारण हैजा फैलिरहेको आशंका गरिएको छ । ‘राजधानीमा उपयोग हुने जार, धारा, बोरिङ, टयुबेलको पानीमा इ–कोलाइ, कोलिफर्म देखिएको छ,’ डा. दासले भने, ‘पानी शुद्घ नरहेसम्म हैजाको बिस्तार रोक्न सहज हुँदैन ।’ सानेपाबाट संकलित ८ वटा पानीको नमूनामध्ये ५ वटामा इ–कोलाइ जीवाणु पाइएको प्रतिवेदन सोमबार आएको हो ।

डिल्लीबजारबाट संकलित पानीको नमुनामध्ये २ वटा र बागबजारबाट संकलित नमुनामध्ये ३ वटामा इ–कोलाइ र कोलिफर्म भेटिएको छ । थानकोट र बल्खुको पानीको रिपोर्ट भने आएको छैन ।

टेकु अस्पतालकी निर्देशक डा. मनिषा रावलले मनसुनका कारण पानीको मुहान प्रदूषित हुने भएकाले थप सावधानी अपनाउनुपर्ने बताइन् । ‘हामीले समयमै सचेतता अपनाएनौं हैजा विस्फोटक रुपमा फैलने जोखिम छ ।’ बरिष्ठ जनस्वास्थ्य विज्ञ डा. राजेन्द्र बीसी हैजाको जोखिम कम गर्न स्ट्रिट फुडको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् । तत्काल यसतर्फ कदम नचालिए हैजा नियन्त्रण बाहिर जान सक्ने उनको भनाइ छ ।

स्कूल, कलेज, कार्यालयहरुको क्यान्टिनको सरसफाई र खानेकुराको गुणस्तरमा पनि ध्यान दिन विज्ञहरुले सुझाएका छन् । विद्यार्थीलाई नङ काट्ने, नुहाउने र सरसफाईमा ध्यान दिनेबारे जानकारी दिइराख्न पनि उनीहरुले आग्रह गरेका छन् ।साभारः कान्तिपुर

 

Related posts

वीरगन्ज महानगरले सुरु गर्याे नारायणी अस्पतालको सरसफाइ

MadhesKhabar

वीरगन्जमा साहिब दरबारले आयाेजना गरेकाे शिविरबाट १२० जना लाभान्वित

MadhesKhabar

कांग्रेस नेता यादवको पहलमा बहुदरमाईमा आयोजित निःशुल्क शिविरबाट १२० जनाले लिए लाभ

MadhesKhabar

Leave a Comment