
मधेसखबर
वीरगन्ज,०१असार : पर्साको कालिकामाई गाउँपालिका विरुद्ध परेको उजुरीहरु बारे छानबिन गर्न बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली गाँउपालिकामा पुगेको छ ।
गाउँपालिका कार्यालय र वडा कार्यालय मार्फत निर्माण भएका साना पुल ,ढलान सडक र नालाको निर्माण कार्य विरुद्ध परेका उजुरीहरु बारे छानबिन गर्न बुधबार अख्तियारको टोली गाँउपालिकामा पुगेको अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाका सुचना अधिकारी विष्णु प्रसाद सोपकोटाले जानकारी दिए ।पुल ,ढलान सडक , नाला निर्माण लगायतका स–साना योजना बारे परेका उजुरीहरुको छानबिन गर्न अख्तियारका शाखा अधिकृत गोपाल शर्मा नेतृत्वको टोलीले पालिकामा पुगेको सापकोटाले बताए ।प्राविधीकहरु सहित पुगेको टोलीले उजुरी परेका योजनाहरुको फाइल लिएर निर्माणस्थलमै पुगेर स्थलगत निरिक्षण गरिरहेको जानकारी उनले दिए ।
गत आर्थिक बर्षमा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको पालामा कालिकामाइ गाँउपालिका वडा नंबर ३ हरिहपुरमा निर्माण भएको पुल र सडक ढलानको स्थलगत निरिक्षण गरेको छ । वडा नम्बर ३ को पुल ४० लाख रुपैयाको लागतमा ठेक्दार कम्पनी मार्फत निर्माण भएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कै पालामा यसअघि पनि विपत व्यवस्थापनको रकम लगायतको योजनामा भएको हिनामिनाको सम्बन्धमा अख्तियारको टोलीले गाउँकार्यपालिका कार्यालयमा पुगेर दुई दिन सम्म छानविन गरेको थियो ।

