
मधेसखबर
वीरगन्ज,२१जेठ : नेपाल मुस्लिम इत्तेहाद संगठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन सरकारसंग माग गरेको छ ।
मुस्लिम इत्तेहाद संगठनले शनिबार गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाउदै हजयात्रीको शुल्क घटाउन माग गरेको हो । संगठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा शनिबार गृहमन्त्रालयमा पुगेको टोलीले गृहमन्त्री खाणलाई भेटेर हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्ने जाने हजयात्रीका लागि विगतको भन्दा यसपाली दोब्बर शुल्क तोकेको छ ।
यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना जानका लागि हजयात्रीबाट चार लाख ६६ हजार ३ सय ९२ तोकिएकामा २०७६ सालमा दुई लाख २५ हजार शुल्क तोकिएको जनाएको छ । संगठनका सचिव हलिम साहले मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर हुँदा अहिले तोकिएको शुल्क तिरेर जाने अवस्था नरहेको हुँदा शुल्क घटाउन माग गरिएको बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले शुल्क घटाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी पनि उनले दिए ।
ज्ञापनपत्रमा विगतका वर्षमा झैँ यसपटक पनि हज गर्ने जाने यात्रीलाई आर्थिक अनुदान दिनुपर्ने, हजयात्रीलाई पैसा जम्मा गर्ने समयावधि जेठ ३० गतेसम्म राख्नुपर्ने, आर्थिक वर्ष २०७६÷७७ मा हज गर्न जान भनी फारम भरी रकम जम्मा गरेका हजयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने सचिव साहले जानकारी दिनुभयो ।आगामी असार ७ गते हजयात्री हज गर्नका लागि मक्कामदिनामा जाने तयारीमा छन् । नेपालका लागि हजयात्रीका लागि एक हजार ५०० जनाको कोटा भए पनि कोरोना भाइरसका कारण ५५४ जनालाई मात्र सरकारले लैजाने भएको छ ।
नेपालबाट विसं २०२१ सालदेखि नै हज गर्नका लागि मुस्लिम समुदायका मानिस मक्कामदिना जाने गरेका छन् । सुरुवातीका बेला भारतको मुम्बईबाट समुद्रसहत हुँदै हजयात्री मक्कामदिना गरिएकामा विसं २०४७ सालदेखि हवाई मार्ग हुँदै गरिएको हो । पवित्र तीर्थस्थलका रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्ने गर्दछन् । मक्कामदिनामा गएर नमाज पढे र कुर्वानी दिए विगतमा गरिएका पाप कट्ने धार्मिक विश्वास रहेको छ ।

