वीरगन्ज, २७ कार्तिक : दिपावली सकिएसंगै तराइ मधेसमा छठ पर्बको तयारी र चहलपहल सुरु भएको छ ।कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा सुरु हुने छठ पर्ब सप्तमी तिथीका दिन बिहान सम्म गरि चार दिन मनाइन्छ ।तराइ मधेसमा बस्ने भोजपुरी र मैथीली भाषि हिन्दुको प्रमुख पर्ब नै छठ पूजा हो ।यसपाली छठ पूजा मंसिर ३ गते आइतबारका दिन परेको छ ।
दिपावली सकिएसंगै तराइ मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री , भाडाँवर्तन,कपडालत्ता इत्यादिको किनमेल सुरु भइसकेको छ ।यस्तै नदि , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ ।
छठपूजाको मुख्य दिन अर्थात षष्ठी तिथीका दिन साँझ अस्ताउदो सुर्य र सप्तमी तिथीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ (पुजआरधना ) दिने स्थल छठीघाट (नदि , पोखरी , तलाउ इत्यादि जलाशय)को सरसफाइ र सजावटको काम पनि सुरु भइसकेको छ ।
पछिल्लो डेढ दशक यता छठीघाटको सरसफाइ र सजावटमा होडबाजी नै देखिएको छ । छठ पूजा मनाउनका लागि वीगरगन्जको घडीअर्वा पोखरी , रानीघाटको सिर्सिया नदि , छपकैया पोखरी , स्वीमीङ पुल , नगवा पोखरी , मुर्ली पोखरी ,पिपरा, रामगढवा , सिर्सिया , अलौं लगायतका स्थानमा रहेका जलाशयहरुलाइ छठीघाटको रुपमा सजाउने काम सुरु भइसकेको छ ।
आकर्षक टेण्ट ,पण्डाल र झिलीमली बत्ती लगाएर छठीघाट सजवाटका लागि मात्रै स्थानीय स्तरमा गठन गरिएका छठ पूजा व्यवस्थापन समितिहरुले लाखौ रुपैया खर्च गर्दै आएका छन् ।
छठ पर्वका लागि नेपालमै प्रसिद्ध घडिअर्वा पोखरी पार्कलाई पनि अहिले सजाउने काम तिब्र गतिमा भइरहेको छ ।घडीअर्वा छठको सजावटसहित व्यवस्थापनमा मात्रै यस वर्ष १८ लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान रहेको छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुले बताए । छठघाटमा टेण्ट पण्डाल र फुलबत्तीसहितको सजावटका लागि भारतबाट कारिगरहरु बोलाइएको जानकारी उनले दिए ।
दिपावली सकिए लगत्तै चार दिन पछि नै छठ पर्व विधिवत रुपमा सुरु हुने हुदाँ बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री , बस्त्र , फलफुल , तेल , मसला जस्ता खाद्यान्नहरुको पसलमा अहिले देखि नै ग्राहकहरुको भिडभाड देखिएको छ ।
छठ आउनु भन्दा दुई चार दिन पहिल्यै सामान किनेर राख्यो भने केहि सस्तो पनि पर्छ , वीरगन्जको घण्टाघर छेउको सडकमै थापिएको पसलमा छैटा किन्दै गरेको अवस्थामा भेटिएकी बाराको मुसहर्वाकी सुगान्धी देवीले भनिन् ,‘ अहिले नै सबै सामानको जोरजाम गरियो भने छठ पूजाका बेला त्यति धेरै धपेडी हुदैन , पूजाकै अरु काममा समय दिन पाइन्छ ।
छठ पर्ब मनाउने घरपरिवारका सबै सदस्यले नयाँ लुगा कपडा लगाउने प्रचलन रहेकाले बजारको रेडिमेड कपडा पसल र डिपार्टमेन्ट स्टलहरुमा पनि ग्राहकहरुको चाप अत्याधिक बढेको छ ।
वीरगन्जमा दशैं र दिपावलीको भन्दा छठमा व्यपार राम्रो हुने गरेको घण्टाघरस्थित एस.के. ट्रेडर्सका सञ्चालक हरिओम गुप्ताले बताए ।

