Madhes Khabar
मधेस प्रदेश

तारा एयरको विमान दुर्घटनामा धनुषाको एउटै टोलका सात जनाको मृत्यु : मृतक सबै आफन्त, पुरा गाउँ नै शोकमा

मृतकका परिवारलाई सान्त्वना दिन जम्मा भएका आफन्त तथा स्थानीय गाउँले । तस्बिर : विजय कुमार सिंह

मधेसखबर
वीरगन्ज,१६जेठ
: आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
उक्त जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ ।
दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरको ९ एन एईटी विमानमा १३ नेपाली, ४ भारतीय, २ जर्मन नागरिक र चालकदलका तीन सदस्यसहित २२ जना सवार थिए । ती सबैको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरीले जनाएको छ ।
विमानमा धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका ७ जना सवार थिए ।
उनीहरु सबै आफन्त हुन् । विमानमा नेकपा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य समेत रहेका लोटाका राजन कुमार गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए ।
उनीहरु मुक्तिनाथ दर्शनका लागि आइतबार पोखराबाट जोमसोम गइरहेका थिए । काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजनले केही दिनअघि परिवारका सदस्यलाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाएका थिए । सोही योजनाअनुरुप गाउँबाट आमाबुबा, मामामाइजुसहितका आफन्तलाई लिएर शुक्रबार काठमाडौंहुँदै विमानबाट शनिबार पोखरा पुगेका थिए ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उनीहरुसहित १९ यात्रु बोकेर पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । सोमबार बिहान क्षतविक्षत अवस्थामा भेटिएको उक्त जहाजमा सवार चालक दलका तीन सदस्यसहित सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ ।

गाउँले चढेको जहाज दुर्घटनाको खबरले स्तब्ध र सुनसान बनेको लोटा गाउँ ।तस्वीर : विजय कुमार सिंह


हिले घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरीले स्थानीयको सहयोगमा शव संकलन भइरहेको छ। मृतकहरुको शव काठमाडौं ल्याएर परिवार आफन्तको जिम्मा लगाउने तयारी रहेको बुझिएको छ ।
धनुषाको चुरेक्षेत्रमा अवस्थित लोटा गाउँ शोकमग्न भएको छ । एउटै टोलका सातजनाको मृत्युले सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतकका परिवार र आफन्तहरुमा रुवाबासी चलेको छ ।साभारःअन्नपूर्णपोट

Related posts

बारा ३ : एमालेकी ज्वाला साह निर्वाचित

MadhesKhabar

सर्लाहीमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाकाे मृत्यु

MadhesKhabar

गौरबाट २०४ किलो गाँजा बरामद

MadhesKhabar

Leave a Comment