
माधुरी महत्तो
वीरगन्ज,१३ जेठ :बाराको निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णय खारेज गर्ने सर्वोच्च अदालतको फैसला सच्याउन , वीरगन्ज उद्योग व्यवासायीहरुले आग्रह गरेका छन् ।
वीरगन्जका उद्योगी व्यवसायीहरुको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निजगढमा विमानस्थल निर्माण रोक्ने सर्वोच्चको फैसला सच्याउन माग गरेको हो । संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले जारी गरेको विज्ञप्तिमा सर्वोच्चको पछिल्लो फैसलाले वीरगन्जका साथै पर्सा र बारा जिल्लाको विकासमा नै नकरात्मक असर पर्ने देखिएकोेले फैसला सच्याउन आग्रह गरिएको छ ।
देशको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थल काठमाण्डौको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा करिब ३ दशक देखि विमान र यात्रुको चाप परेपछि थप एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर विभिन्न कार्यदल अध्ययनको प्रतिवेदनको आधारमा सबैभन्दा उपयुक्त स्थल निजगढलाई ठहराएको र नेपाल सरकारको निर्णय अनुसार त्यहाँ विमानस्थल बनाउने निर्णय भएको संघले स्मरण गराएको छ । निजगढमा विमानस्थल निर्माणका लागि अहिले सम्म १ अर्ब भन्दाबढि रकम पनि खर्च भइसकेको अवस्थामा अदालतबाट हठात् विकल्प खोज्ने आदेश हुनु दुखद रहेको पनि संघले जनाएको छ ।
संघीय राजधानी काठमाण्डौं देखि करिब ८० किलोमिटरको दूरीमा भएकोले काठमाण्डौं आउन जान केवल एक डेढ घण्टाको दूरी मात्र भएकोले निजगढमा विमानस्थल अति नै आवश्यक भएको संघको ठहर छ । त्यसैले सर्वोच्चकोे फैसला पुनरावलोकन गरि सच्याएर विमानस्थल निर्माणको काम शुरु गर्न संघले माग गरेको छ ।

