
माधुरी महत्तो
वीरगन्ज,०९जेठ :सत्तारुढ दल नेपाली काँग्रेसकै भातृसंगठन नेपाल विधार्थी संघ (नेविसंघ) ले इन्धनमा गरिएको मुल्य वृद्धिको विरोध गर्दै वीरगन्जमा प्रदर्शन गरेको छ ।
इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघले वीरगन्जमा सोमबार दिउँसो प्रदर्शन गरेको हो । नेविसंघका ठाकुरराम बहुमुखी क्याम्पस इकाइ अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा सहभागीहरुले मुल्यवृद्धि गर्ने नेपाल आयल निगम र सरकारका विरुद्ध पनि नाराबाजी गरेका थिए । घण्टाघर चोकमा गरिएको प्रदर्शनमा सहभागीहरुले मुल्य वृद्धि फिर्ता गर , आपुर्तिमन्त्रालय होशीयार , असक्षम आयल निगम मुर्दावाद , जनता मार्न पाइदैन , मुल्यवृद्धि चाहिदैन जस्ता नारा लगाएका थिए ।
प्रदर्शनको अगुवाइ गरेका नेविसंघका इकाइ अध्यक्ष साहले दैनिक उपभोग्यवस्तुमा भइरहेको मुल्यवृद्धिले पिडित नागरिकलाइ इन्धनमा पनि पटक पटक गरिएको मुल्यवृद्धिले झन आहत पारेको बताए । आयल निगम र सरकारको यो निर्णय जनविरोधी रहेको पनि उनले बताए । इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ता नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।
आयल निगमले आइतबार राति १२ बजे देखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय रुपैया पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

