
मधेसखबर
वीरगन्ज, ०६जेठ :मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एस) की नेता मीना लामा निर्वाचित भएकी छन् । जितसँगै उनी वाग्मती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयरसमेत बनेकि छन् । नेकपा एमाले र राप्रपाको चुनौती पन्छाउँदै लामाले पाँचवर्षका लागि शासनसत्ता आफ्नो हातमा पार्न सफल भएकी छन् ।
लामा २३ हजार ७५ मत ल्याएर विजयी भएकि हुन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याए । लामाले पौडेललाई २ हजार १ सय ६७ मतले पराजित गरेकी हुन् ।
त्यस्तै उपमेयरमा कांग्रेसका राजेश बानिया निर्वाचित भएका छन् । उनले ३२ हजार ५ सय ९३ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याए । राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४ सय ८३ मत ल्याइन् ।
२०३३ साल पुस २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिएकी लामाले २०४६ सालबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले समाजशास्त्रमा एमए गरेकी छन् । २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इञ्चार्ज भई काम गरेकी लामा २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव भएकी थिइन् । २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य भएकी लामासँग आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष भएर काम गरेको अनुभवसमेत छ ।

