
मधेसखबर
वीरगन्ज ,३० बैशाख : मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा शुक्रबार भइरहेकोनिर्वाचनको मतगणनाका लागि मतगणनास्थलको तयारी पुरा भएको छ ।
महानगरको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले वीरगन्ज १४ पिपरा स्थित नृसिंह माविको भवनलाइ मतगणनास्थल तोकेको छ ।
शुक्रबार मतदान सकिएपछि मतगणना गरिने मतदानस्थलको बिहीबार साँझ सम्म सम्पूर्ण तयारी पुरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकिृत धर्मराज पौडेलले जानकारी गराए ।
पौडेलका अनुसार , मतगणना गरिने कोठाहरुमा ८ फिट अग्लो तार जाली सहितको बार लगाइएको छ ।
यस्तै निर्वाचन आयोगको निर्देशन अनुसार , मगणना हुने र मतपेटिका भण्डार गर्ने सबै कोठाहरुमा गरि कुल ८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

मतगणनास्थल नृसिंह माविको चार वटा कोठामा मतगणना गरिने र चार वटा कोठामा मतपेटिका भण्डारण गरिने जानकारी पौडेलले दिए ।
मतगणनका क्रममा कुनै अवान्छित गतिविधी वा गडबडी हुन नदिन त्यसको निगरानीका लागि हरेक कोठामा एक एक वटाका दरले सिसिटिभी क्यामेरा जडान गरिएको उनले बताए ।
सिसिटिभी क्यामेराबाट मतपत्रको भण्डारण क्षेत्र , गणनास्थल , उम्मेदवारका प्रतिनिधि र गणकहरुको गतविधीहरुको निगरानी निर्वाचन आयोगले समेत गर्ने पौडेलले बताए ।
यस्तै विद्युत प्राधिकरणको विद्युत आपुर्ति सेवा अवरुद्ध भइ हालेमा वैकल्पिक उर्जाका लागि जेनेरेटेरको पनि प्रबन्ध गरिएको जानकारी उनले गराए ।
३२ वटा वडा रहेको महानगरको मतगणनाका लागि निर्वाचन कार्यालयका तर्फबाट प्रत्येक कोठामा ६÷६ जनाको दरले कुल २४ जना गणक खटाइने जानकारी पनि उनले दिए ।

मतगणनास्थलको सुरक्षाका लागि तीन वटै सुरक्षा निकायसंग समन्वय गरि आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।
मतगणनास्थलको भौतिक व्यवस्थापन महानगरपालिकाले गरेको जानकारी पनि उनले गरए ।

