
माधुरी महत्तो
वीरगन्ज,२०जेठ:पर्साको छिपहरमाइ गाँउपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेस र जसपाको गठबन्धन विजयी भएको छ ।
शुक्रबार भएको निर्वाचनमा ६ कार्यपालिका सदस्यमा काँग्रेस र जसपाका तीन तीन जना उम्मेदवार निर्वाचित भएका हुन् । महिला सदस्यमा काँग्रेसकी भंगीया देवी र हिरामति देवी तथा जसपाकी चन्द्रवाती देवी र सबिता देवी राम निर्वाचित भएकी हुन् ।
दलित वा अल्पसंख्यक सदस्यमा पनि काँग्रेसका बलिष्टर साह कानु र जसपाका नरेश कुमार जयसवाल निर्वाचित भएको नेपाली काँग्रेसका नेता एंव पालिका अध्यक्षका प्रत्याशी नविन सिंहले जानकारी दिए। एमालेका उम्मेदवारहरु भने पराजित भएका छन् ।
कुल ५ वटा वडा रहेको छिपहरमाइ गाँउपालिकाको कार्यपालिका सदस्यका लागि शुक्रबार भएको निर्वाचनमा २७ जना मतदाता थिए ।
बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा छिपहरमाइ गाँउपालिकामा एमालेले गाँउपालिका अध्यक्ष सहित २ वडा अध्यक्ष , काँग्रेसले गाँउपालिका उपाध्यक्ष सहित ३ वडा अध्यक्ष र जसपाले भने ५ वडा सदस्य मात्र जितेको थियो ।

