
मधेसखबर
वीरगन्ज, २७ बैशाख :भारतसंग सीमा जोडिएका तराइ मधेसका जिल्लाहरुमा चुनावी प्रचारमा भारतीय गाडीहरुको व्यापक प्रयोग भइरहेको छ ।
पर्सा , बारा सहित मधेस प्रदेशका आठ वटै जिल्लाहरुमा दल र उम्मेदवारहरुले निर्वाचन आचार संंहिता विपरित भारतीय गाडीको व्यापक प्रयोग गरिरहेका छन् ।
निर्वाचन आयोगले चैत २५ देखि लागु गरेको निर्वाचन आचार संहिता २०७८ को बुँदा १३ को ‘ज’ मा चुनावी प्रचारप्रसारमा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने उल्लेख गरिएको छ ।सोही बमोजिम कार्यान्वग गर्न गराउन भन्दै निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुलाइ पत्रचार पनि गरिरहेको छ । यदि कसैले यो नियम उल्लंघन गरे सम्बन्धित दल वा उम्मेदवार कानूनी कार्वाहीको दायरामा आउने आयोगले चेतावनी पनि दिएको छ ।
तर वीरगन्ज महानगर सहित पर्सा जिल्लाका १४ वटै पालिकामा पनि चुनावी प्रचार प्रसारमा भारतीय गाडीहरु व्यापक संख्यामा प्रयोग भइरहेका छन् । चुनाव प्रचार प्रसारमा भारतीय गाडीहरुको निर्वाध प्रयोग भइरहदा समेत यहाका निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतका कार्यालयहरु मुकदर्शक बनेर बसेका छन् । उम्मेदवारहरूले निर्वाचन आचार संहितालाइ उल्लंघन गर्दै चुनावी प्रचार प्रसारमा भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरिरहेको पर्साको ग्रामीण भेगका एक सर्वसधारण राजीव साहले बताए ।
उनले भने ,‘ खासगरि सीमावतर्ती पालिकाहरुमा चुनाव प्रचार प्रसारमा धेरै जसो भारतीय गाडी नै प्रयोग भईरहेको छ , तर कोही कसैले पनि रोकटोक गरेको छैन ।
उम्मेदवार र दलका नेताहरुले भारतीय नमबर प्लेटका गाडी निर्वाध रुपमा प्रयोग गरिरहेकोले दुर्घटनाको जोखीम पनि बढेको जनकपुरका रामबालक महतोले बताए ।
उनले भने ,‘ जनकपुरमा चुनावको प्रचारमा भारतीय गाडीहरु प्रयोग गरिएका छन् , कतिपय स्थानमा त चुनावी प्रसारमा लागेका भारतीय गाडीले दुर्घटना पनि भएको छ ।
भारतीय गाडीको भाडा ,नेपाली नम्बर प्लेटको गाडी भन्दा निक्कै सस्तो पर्ने भएकोले यहाका दल र उम्मेदवारहरुको रोजाईमा चुनावका बेला भारतीय गाडी नै पर्ने गरेको छ ।
निर्वाचन आयोगले भने न निर्वाचन आचार संहिता उल्ल्ंघन गरेका दल वा उम्मेदवार तथा राजनीतीक दलका प्रमुख नेताहरुलाई सचेत गराएको जनाएको छ ।
निर्वाचन आयोगका सहप्रवतmा एंव सुचना अधिकारी सुर्य प्रसाद अर्यालले भारतीय गाडी प्रयोगबारे स्थानीय तहका प्रहरी प्रशासन कार्यालय र निर्वाचन कार्यालयसंग समन्वय गरी गाडी निर्वाचन अवधीभर जफत गर्नेदेखी रोक लगाउने तथा सचेत गराउने कार्य भइरहेको बताए ।

