Madhes Khabar
राष्ट्रिय

वीरगन्जको नगवामा रातभर के के भयो ?

तस्वीर :महादेव कुर्मीको फेसबुकबाट

मधेसखबर
वीरगन्ज, २७ बैशाख
: वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा सोमबार मध्यरातमा चुनावको विषयलाइ लिएर रातभर तनाव भएको छ ।
नेकपा एमालेका मेयर उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगी , चुनावी दौरानका क्रममा सोमबार राति नगवा स्थित काँग्रेसका एक स्थानीयको घरमा गएका बेला स्थानीयहरुको एक समुहले होहल्ला गर्दै घर घेराउ गरेपछि स्थिती तनावपूर्ण बनको हो ।
एमाले उम्मेदवार सरावगी मोटरसाइकलमा सवार भइ आफना सहयोगीका साथ राति १२ बजे तिर स्थानीय काँग्रेस नेता विनोद चौरसीयाको घरमा गएका थिए ।
चौरसीयाको घरमा सरावगी प्रवेश गरे लगत्तै उनलाइ पछ्याउदै गएका स्थानीयहरुको एक समुहले सरावगीले निर्वाचन आचार संहिता उल्लंघन गरेर राति मतदाताको घरमा किन आएको भनेर होहल्ला गरेका थिए ।
चौरसीयाको घरको मुल गेट अगाडि नै झण्डै तीन घण्टा सम्म स्थानीयको समुहले होहल्ला गरिरहेपछि त्यहा प्रहरी पुगेको थियो ।
वडा प्रहरी कार्यालय विर्ता र श्रीपुरबाट गएको टोलीले मङगलबार बिहान ३ बजे तिर चौरसीयाको घरबाट सरावगीलाइ उद्धार गरेर चिनीमल आवास क्षेत्र स्थित उनको घरमा पुरयाएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।
प्रहरी उपरिक्षक बस्नेतले , सरावगी चुनावी दौरानका क्रममा भोट माग्न राति १२ बजे तिर नगवा स्थित काँग्रेस कार्यकर्ताको घरमा गएपछि जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले घर घेराउ गरेर होहल्ला गरेको र त्यो खबर आफुले साढे १२ तिर पाए लगत्तै त्यहा प्रहरी परिचालन गरेको बताए ।
आचार संहिता उल्लंघन गरेर सरावगी मध्यरातमा काँग्रेस कार्यकर्ताको घरमा किन आएको भनेर जसपाका कार्यकर्ताहरुले होहल्ला गरेको र प्रहरी पुगेर बिहान ३ बजे तिर सरावगीलाइ स्कर्टिङग गरेर घरमा पुरयाइ दिएको बस्नेतले बताए ।


राति प्रदर्शन गरेका जसपाका कार्यकर्ताहरुले भने निर्वाचन आचार संहिता उल्लंघन गरेर सरावगी मध्यरातमा काँग्रेसी नेताको घरमा आउनु शंकास्पद भएकाले आफुहरुले निगरानी गरेको बताए ।
सरावगी पैसाको झोला बोकर भोट किन्न आए पछि आफुहरुले प्रतिवाद गरेको उनिहरुको भनाइ छ ।
चौरसीयाको घरमा खानतलाशी गर्न भने पनि प्रहरीले नमानको उनिहरुको आरोप छ ।
तर प्रहरी उपरिक्षक बस्नेतले चौरसीयाको घर प्रहरीले खानतलाशी गरेको र त्यहा कुनै पनि रकम फेला नपरेको बताए ।
विजय सरावगी के भन्छन् ?
सरावगीले नगवाको रातिको घटना जसपाका मेयर उम्मेदवार र उनिबाट परिचालित कार्यकर्ताहरुको चुनावी स्टण्ट भएको बताए ।
उनले आफु मत माग्न मतदाताको घरमा गएका बेला विपक्षी दलका उम्मेदवार र तीनका कार्यकर्ताले गुण्डागर्दी शैलीमा होहल्ला गरेर अनावश्यक बवाल गरेको बताए ।
सोमबार राति आफु परवानीपुरको रात्री चुनावी सभामा रहेकै बेला नगवाबाट चौरसीयाले फोन गरेर बोलाएको र परवानीपुरको कार्यक्रम सकेर जादै गर्दा राति पौने १२ बजे तिर उनको घरमा पुगेको सरावगीले बताए ।
आफु चौरसीयाको घरमा पुग्ने बित्तिक्कै नजिकै जसपाले गरिरहेको चुनावी भोजभतेरमा रहेका जसपाका कार्यकर्ताहरुले अराजक शैलीमा होहल्ला गरेर घर घेराउ गरेको सरावगीले बताए ।
होहल्ला गरेको १ घण्टा सम्म कुर्दा पनि प्रहरीबाट कुनै पहल नभएपछि आफुले पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतलाइ फोन गरेर घटना बारे जानकारी गराएपनि दुइ घण्टा सम्म कुनै वास्ता नगरेको सरावगीले गुनासो गरे ।
त्यसपछि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ फोन गरेपछि मात्र प्रहरी उपरिक्षक बस्नेतले प्रहरीको थप टोली पठाएर त्यहाबाट आफुलाइ उद्धार गरेर आफनो निवासमा पुरयाइ दिएको सरावगीले बताए । प्रहरी प्रमुखको बदनियतका कारण आफु त्यहा ३ घण्टा सम्म मानसिक यातना खेप्न बाध्य भएको आरोप पनि सरावगीले लगाए ।
सरावगीले भने ,‘ म उम्मेदवार हु , हरेक मतदाताको घरमा जान पाउनु मेरो अधिकार हो , त्यसमा पनि नगवामा राति मतदाता स्वंयले भेट्न बोलाएका हुन् , म भोट माग्न गएको थिए तर विपक्षीबाट परिचालितहरुले यसलाइ राजनीतिक स्टण्ट बनाए , यो घटना विपक्षी उम्मेदवारको सुनियोजित योजनामा गराइएको हो , जनताले सब कुरा बुझिरहेका छन् ।


राजेशमान सिंह के भन्छन् ?
जसपाका मेयर उम्मेदवार राजेशमान सिंहले भने रातिको घटनामा जसपाका कार्यकर्ता नरहेको दाबी गरे । नगवावासी स्वस्र्फुत रुपमा गलत हर्कतको प्र्रतिवाद र विरोधमा उत्रिएको उनले बताए ।
राजेशमानले भने ,‘ रातिको घटनामा जसपाका नेता कार्यकर्ता थिएन, सबै नगवाबासी थिए , नगवावासीमा हुन सक्छ जसपाका पनि एक दुइ कार्यकर्ता हुन सक्छन् , तर हामीले परिचालित गरेको चाहि होइन ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेर राति कसैको घरमा पस्नु , जनताले प्रतिवाद गरेपछि भाग्नु कुराले नै सबै कुरा छर्लङग पारेको उनले बताए ।
सरावगी प्रति लक्षित गर्दै राजेशमानले भने ,‘ उहाको कामै त्यहि हो , वीरगन्जको राजनीतिलाइ फोहोरी बनाइदिनु भएको छ र अर्र्को कुरा जनता यसपाली सचेत भइसकेका छन् , त्यसैको नतीजा रातिको घटना हुन पुगेको हो ।


प्रहरी उपरिक्षक बस्नेतले भने राति १२.३० बजे खबर पाउने बित्तीक्कै प्रहरी घटनास्थलमा पुग्दा करिब दुइ अढाइ सयको संख्यामा जसपाका कार्यकर्ताहरुले होहल्ला र नाराबाजी गरिरहेको अवस्था रहेकाले स्थिती साम्य बनाउन समय लागेकाले सरावगीको उद्धारमा ढिला हुन पुगेको बताए ।
कुनै पनि उम्मेदवारले निर्वाचन आचार संहिता विपरित बेलुकी ७ बजे पछि चुनावी गतिविधी गर्न नपाउने भन्दै प्रहरी उपरिक्षक बस्नेतले सोमबार राति भएको घटना बारे अनुसन्धान भइरहेको बताए ।

Related posts

सहकारी ठगी प्रकरणमा जीबी राई र रवि लामिछानेविरुद्ध उजुरी दर्ता

MadhesKhabar

आगामी निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय

MadhesKhabar

जिसस बाराको प्रमुख र उपप्रमुखमा एमाले विजयी

MadhesKhabar

Leave a Comment