
मधेसखबर
वीरगन्ज , २६ बैशाख : सत्तागठबन्धनका मुख्य दल नेकपा माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा नेपाली कांग्रेसबाट धोका भइररहेको बताएका छन् ।
प्रचण्डले गठबन्धन भित्रै कांग्रेसले धोका दिइरहेको आशंका व्यक्त गरेका हुन् । कैलाली जिल्लाको कैलारी गाउँपालिकाको हसुलिया बजारमा सोमबार बिहान माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने गठबन्धन दलहरु बिचको सहमति विपरीत कांग्रेसले केहि पालिकामा उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको बताए ।
प्रचण्डले देशका धेरै पालिकाहरुमा अहिले सम्म पनि गठबन्धन ‘क्लियर’ नभएको समेत बताए । उनले गठबन्धन भित्रैबाट हुने बेइमानी र षडयन्त्र स्वीकार्य नहुने चेतावनी दिए ।
यदि गठबन्धन भित्रकै दलबाट धोका र बेइमानी भए अन्तिम समयमा माओवादीले एक्लै चुनाव लड्ने चेतावनी पनि प्रचण्डले दिए ।
प्रचण्डले भने, ‘कैलाली जिल्लाको कैलारी गाउँपालिका पनि कांग्रेसले गठबन्धनको सहमतिविपरीत अध्यक्षमा उम्मेदवारी दिएको छ , यदि त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ ।
कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनको सहमतिमा माओवादीले अध्यक्ष र उपाध्यक्षमा कांग्रेसलाई उम्मेदवार बनाउने भन्ने थियो । तर‚ सहमति बन्नुअगावै कांग्रेसबाट टिकट पाइसकेका रामसमज चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिए । पार्टीले प्राविधिक कारणले उनको उम्मेदवारी रद्द गराउन सकेको थिएन । गठबन्धनले उनलाई आधिकारिक उम्मेदवार भने मानेको छैन । उनी चुनावी प्रचारमा छन् ।
कांग्रेसको उम्मेदवारीपछि उपाध्यक्षमा माओवादीकी लक्ष्मी सत्वगौवा चौधरीले पनि उम्मेदवारी दिएकी छन् । उनले पनि अहिलेसम्म उम्मेदवारी फिर्ता लिएकी छैनन् । माओवादीले पनि गठबन्धनको सहमतिविपरीत सत्गौवा चौधरीका लागि मत मागिरहेको छ ।

