
क्रान्ति शाह
वीरगन्ज, १४ बैशाख : नेपाली कांग्रेसका नेता डाक्टर.शेखर कोइरालाले काँग्रेस शीर्ष नेतृत्वले आर्थिक चलखेल गरेर चुनावको टिकट वितरण गरेको बताएका छन् ।
बुधवार एक विज्ञप्ति जारी गर्दै कोइरालालले मा टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता हुँदा काँग्रेसका इमान्दार र निष्ठावान कार्यकर्तालाई अन्याय भएको बताएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन ।’
संस्थपन पक्षका नेताहरुले आफुसँग असहमत भएकै कारण कैयन काँग्रेस नेताको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध हिसाबले टिकट बाडेको उनको आरोप छ ।पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्ने नेता कोइरालाको माग छ ।
स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने आफूले बताएपनि कार्यकर्ताहरु प्रति समानरुपले न्याय नभएको उनको भनाई छ ।कोइरालाले संस्थापन पक्षले टिकट वितरणमा आर्थिक चलखेल गरेकै कारण जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित काँग्रेस नेता कार्यकर्ताहरु पार्टी छाडेर अन्य पार्टीमा जान थालेको र यो चिन्ताजनक भएको बताएका छन् ।
उनले आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल पनि गरेका छन्।

