वीरगन्ज,८मंसिरः जनमत पार्टीले पर्सा जिल्लामा फेरि निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सुरु गरेको छ ।“जनसेवा र लोककल्याण नै राजनीतिको मूल उद्देश्य हो” भन्ने मूल नाराका साथ जनमत पार्टी पर्सा र पार्टीको वीरगन्ज महानगर समितिले लोककल्याणकारी अभियानअन्तर्गत विगत तीन वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर फेरि सुरु गरेको हो
अभियानको पहिलो दिन मंगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर–१ मा आयोजित शिविरमा १२५ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। परीक्षणका क्रममा २३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ। मोतियाबिन्दु देखिएका सबै बिरामीको शल्यक्रिया वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क गरिने जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।
नेतृ रम्भा मिश्रको नेतृत्वमा मंगलबार सम्पन्न शिविरमा जनमत पार्टी पर्साका अध्यक्ष सरार्फ, वीरगन्ज महानगर अध्यक्ष ध्रुप प्रसाद महतो, जिल्ला उपाध्यक्ष नागेन्द्र प्रसाद गुप्ता, जिल्ला सदस्यहरू कृष्ण (लड्डु) प्रसाद कानु, किशोर कुशवाहा, राजकपुर मण्डल, कुसुम सरार्फलगायतको विशेष उपस्थिति रहेको थियो।
जनमत पार्टी पर्साका जिल्ला प्रवक्ता सहनवाज राकीले पार्टीले राजनीतिलाई केवल सत्ता र पद प्राप्तिको माध्यम नभई जनताको सेवा, स्वास्थ्य तथा सामाजिक कल्याणसँग जोड्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्दै आएको बताए।
उनले आगामी दिनमा पनि महानगरका सबै वडा तथा जिल्लाका ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने बताए।

