काठमाडौं,२६कात्तिक: मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
काठमाडौंवाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना बिहीबार बिहान ६ः१० बजे भएको हाे ।
मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन्।उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न सकेको छैन । मृतकहरूमध्ये अधिकांश सर्लाही जिल्लाका रहेका छन् । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मी पुगेर घाइतेहरूको उद्धार गर्नुका साथै मृतकहरूको शव हेटौंडा ल्याउँदै छन् । उक्त घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट ८ किलोमिटर उत्तर पर्छ ।

