
बारा,२४कात्तिक:बारामा बिजुलीकाे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराकाे कलैया उपमहानगरपालिका–११ घोगरहियाका २५ वर्षीय छोरा राजु जयसवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार सोमबार दिउँसो महागढीमाई नगरपालिका–३ गञ्जभवानीपुर निवासी मोहन साह कलवारको निर्माणाधीन घरमा वेल्डिङको काम गरिरहेका जयसवाललाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनलाई मृत घोषणा गरेका थिए।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए ।

