
काठमाडौं,१२कार्तिक:कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन् ।
उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार महर्जन र खनालले मन्त्रालयको उच्च तहमा पहुँच रहेको विश्वास दिलाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
जालिम सिंह महतोले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । ठगी मुद्दामा पूजा खड्गीसमेतलाई प्रतिवादी बनाइएको छ।
पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ।

