जनकपुरधाम,३ असोजःसंविधान दिवसका दिन आज (शनिबार) जनकपुरमा राष्ट्रिय एकता दलले वर्तमान संविधानका केही प्रावधानहरूप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको छ ।
संविधानमा भएको धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै उक्त दलले शनिबार जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले “संविधानलाई स्वागत छ, धर्मनिरपेक्षता असह्य छ!“ ,“संवैधानिक संशोधन गर, हिन्दूराष्ट्र घोषणा गर! “ जस्ता नारा लगाएका थिए ।
संविधान निर्माणका क्रममा भएका त्रुटिहरू सच्याउनुपर्ने र धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको राष्ट्रिय एकता दलका नेता दिलिप मण्डलले बताए । विरोध प्रदर्शनमा नेताहरु मनिष पूर्वे, रणधीर यादव, श्याम साह लगायतकाको सहभागिता रहेको थियो।

