वीरगन्ज,३ असोजःसंविधान दिवसको अवसरमा वीरगन्जमा प्याब्सनले आयोजना गरेको ‘प्याब्सन वाणी प्रतिभा २०८३’ अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा गौतम माविकी छात्रा रीत रौनियार प्रथम भएकी छन् । उक्त प्रतियोगितामा विद्यासदन माविकी अफ्रिना खातुन द्वितीय, द रोयल एकेडेमीकी नलिष्का प्रजापति तृतीय भएकी छन् । यस्तै मुनलाइट माविकी चौधरीले चौथो स्थान र डीएभी आरबी केडिया माविकी सान्वी गुप्ताले पाँचौ स्थान प्राप्त गरेकी छन् ।
परवानीपुरस्थित डीएभी स्कूलमा आयोजित उक्त प्रतियोगितामा २८ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र र मेडलसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
डीएभी स्कूलका प्रिन्सिपल राकेश मिश्राको कार्यक्रम संयोजनमा सम्पन्न प्रतियोगिताको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले गरेका थिए। उक्त कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रममा प्याब्सन मधेस प्रदेशका उपाध्यक्षद्वय पुरन प्रधान र इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय,सल्लाहकार हरिश्याम ठाकुर, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव, प्याब्सन वीरगन्जका सचिव अमित आलोकलगायतकाको पनि उपस्थिति रहेको थियो।
प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्ग्रौलाका अनुसार, संविधान दिवसको अवसरमा आयोजित प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा संवैधानिक ज्ञानको विकासमा योगदान पु¥याएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने र सार्वजनिक वक्तृत्वकलामा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो।
उक्त कार्यक्रममै रसुवा बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि केन्द्रीय प्याब्सनको आह्वानमा प्याब्सन पर्साको समन्वयमा प्याब्सनमा आबद्ध ५३ वटा विद्यालयहरूले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सम्बन्धित विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

