Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा ३ महिनादेखि राेकिएकाे बीपी उद्यानको रेल्वे पार्क निर्माणको काम पुन: सुरु

वीरगन्ज,३असाेज: वीरगन्जको घण्टाघरस्थित बीपी उद्यान पार्कभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गर्दै रेल्वे पार्कका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । पार्कभित्रको रेल्वे क्षेत्रमा पुनः सरसफाइ तथा व्यवस्थापनको काम सुरु गरिएको हो ।

वीरगन्जज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा शनिबार पार्कभित्रकाे रेल्वे क्षेत्रको सरसफाइ गरिएको हो । पार्कभित्र तीन महिनादेखि झाडी तथा फोहोरका कारण अस्तव्यस्त बनेको रेल्वे क्षेत्रमा सरसफाइ गरी आगामी दिनमा रेल्वे पार्क निर्माणको काम अघि बढाउने तयारी महानगरले गरेको छ ।

बीपी उद्यानलाई वीरगन्ज शहरको प्रमुख हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत पार्कभित्र रहेका विभिन्न संरचना तथा क्षेत्रलाई व्यवस्थित गर्ने काम हुँदै आएको थियो । त्यसमध्ये रेल्वे क्षेत्रलाई ऐतिहासिक महत्व झल्किने तथा वीरगन्जको पहिचानसँग जोडिने गरी रेल्वे पार्कका रूपमा विकास गर्ने अवधारणा महानगरका मेयर सिंहले अघि सारेका थिए ।

 

रेल्वे पार्क निर्माणको प्रारम्भिक तयारीस्वरूप क्षेत्रको सरसफाइ, झाडी हटाउने तथा खाली स्थानलाई व्यवस्थित गर्ने काम अघि बढाइएको थियो । कामले गति लिइरहेका बेला गत जेठ २५ गते मेयर सिंह निलम्बनमा परेपछि पार्कभित्रको सरसफाइ तथा व्यवस्थापनको काम रोकिएको थियो । काम रोकिएपछि रेल्वे क्षेत्र पुनः झाडी र फोहोरले ढाकिँदै गएर अस्तव्यस्त बनेको थियो ।

सिंहले गत सोमबार विशेष अदालतबाट सफाइ पाएसँगै महानगरका रोकिएका कामलाई पुनः गति दिन थालेका छन् । त्यसक्रममा वीरगन्जको सरसफाइ अभियानलाई तीव्रता दिनुका साथै वीपी उद्यानको रोकिएको कामलाई समेत अघि बढाउन निर्देशन दिइएको महानगरले जनाएको छ ।
रेल्वे क्षेत्रको सरसफाइसँगै अब पार्कको उक्त भागलाई थप व्यवस्थित बनाउँदै रेल्वे पार्क निर्माणको योजनालाई अघि बढाउने तयारी गरिएको छ ।

पार्कलाई हरियाली, मनोरञ्जन तथा ऐतिहासिक पक्षसँग जोडेर विकास गर्ने महानगरको योजनाअनुसार क्रमशः अन्य कामसमेत अघि बढाइएकाे मेयर सिंहले जानकारी दिए ।

वीरगन्जको मुख्य तथा व्यस्त क्षेत्र घण्टाघर नजिकै रहेको बीपी उद्यानलाई व्यवस्थित र आकर्षक सार्वजनिक पार्कका रूपमा विकास गर्ने महानगरको योजना रहेकाे मेयर सिंहले बताए । पार्कको व्यवस्थित विकाससँगै सर्वसाधारणका लागि खुला तथा मनोरञ्जनको उपयुक्त स्थलका रूपमा स्थापित गर्ने लक्ष्य महानगरले लिएको छ ।

रेल्वे क्षेत्रमा शनिबार गरिएको सरसफाइ कार्यक्रममा महानगरपालिकाका मेयर सिंह, प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, महानगरपालिकाका सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानलगायतको सहभागिता रहेको थियो ।

Related posts

विश्वप्रसीद्ध गढीमाई मेलामा मधेस सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने मुख्यमन्त्री सिंहको घोषणा

MadhesKhabar

त्रिशुलीमा बेपत्ता एन्जल बसको चालकका छोरा–छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरले लिने

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको प्रशासनिक भवनको काम बजेट अभावले प्रभावित

MadhesKhabar

Leave a Comment