काठमाडौं,२५ भदौं :सडक निर्माण नै नगरी नक्कली बिल बनाएर पैसा खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ।
धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्मको सडकको काम नै नगरी रकम हिनामिना गरेको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। अख्यितारले धनौजी गाउँपलिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, वरिष्ठ अहेव उमेर शाह र शिक्षा शाखा प्रमुख अनिलकुमार साहूविरुद्ध मुद्दा दायर गरेको हो।
त्यस्तै, अमृत मिडिया प्रालि तथा कम्पनीका सञ्चालक राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रालिका तथा जनकपुर टुडेका प्रधान सम्पादक बृजकुमार यादव, साइन कन्स्ट्रक्सन तथा सञ्चालक विकासप्रसाद यादव, एसकेवाई इन्जिनियरिङ एन्ड ट्रेडिङ प्रालि तथा सञ्चालक रामनारायण साह र असिस्टेन्ट सब इन्जिनियर शुभाषकुमार महराविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको न्यौपानेले जानकारी दिए ।
तत्काली प्रशासकीय अधिकृत चौधरीसहित सरकारी कर्मचारी र निर्माण कम्पनीलाई नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोप छ। उनीहरूले २६ लाख ६४ हजार ६२४ रुपैयाँ हिनामिना गरेको आरोप छ।
त्यस्तै, अमृत मिडियाका सञ्चालक राजेन्द्र यादव र जनकपुर टुडेका प्रधान सम्पादक बृजकुमार यादवलाई निर्माण कार्यको ठेक्का सम्बन्धी सूचनाका लागि एउटा मात्रै पत्रिका छापेर सूचना लुकाउने कार्यमा संलग्न भएको आरोप लगाइएको छ। उनीहरूविरुद्ध दुई लाख ४९ हजार ५०४ रुपैयाँ बिगो दाबी गरिएको छ।

