Madhes Khabar
धर्म/संस्कृति

राधाकृष्ण रथयात्रामा भक्तजनले भेटी चढाएको २ लाख ८२ हजार रुपैयाँ बाढीपीडितलाइ सहयोग गरिने

विराटनगर,२१ भदौं : भगवान् श्रीराधाकृष्णप्रतिको आस्थाले चढाइएको भेटी अब विपदमा परेका नागरिकको जीवनमा सहयोग बन्ने भएको छ।विराटनगरमा शनिबार सम्पन्न ५९ औं श्रीराधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको २ लाख ८२ हजार ४१८ रुपैयाँ भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिने भएको हो।

रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार रथयात्राका क्रममा भक्तजनबाट उक्त रकम संकलन भएको हो।

समितिले यसपटक रथयात्रामा संकलित भेटीलाई धार्मिक प्रयोजनमा मात्र सीमित नगरी विपदमा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको छ । संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने रेग्मीले बताए।

रथयात्राका क्रममा बाढीपीडितका लागि राहत रकम संकलन गर्न तीनवटा छुट्टाछुट्टै दानपेटिका समेत राखिएका थिए। त्यसबाहेक खट र रथमा श्रद्धालु भक्तजनले चढाएको भेटी रकमसमेत बाढीपीडितकै राहतमा उपलब्ध गराइने भएको छ । रथयात्रामा सहभागी हुने श्रद्धालुको अत्यधिक भिडभाड र सुरक्षा व्यवस्थाका कारण सबैले सिधै खट तथा रथमा भेटी चढाउन सहज नहुने भएकाले राहत संकलनका लागि छुट्टै दानपेटिका राखिएको संयोजक रेग्मीले बताए।

उनका अनुसार धार्मिक आस्थाका साथ भक्तजनले चढाएको रकमलाई यसपटक सामाजिक सेवामा लगाउने निर्णय गरिएको हो। ‘रथयात्रामा श्रद्धालु भक्तजनबाट संकलन भएको भेटीलाई यसपटक सामाजिक सेवामा प्रयोग गर्ने निर्णय गरेका छौँ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने छ । भोटेकोशी बाढीपीडितको राहतमा सहयोग पुग्ने विश्वास लिएका छौँ,’ रेग्मीले भने।

रथयात्रा धार्मिक आस्थाको पर्व भए पनि त्यसबाट संकलित रकम विपद्मा परेका नागरिकसम्म पुर्याउने निर्णयले यसको सामाजिक पक्षलाई समेत उजागर गरेको छ । ‘विपद्को पीडामा रहेका परिवारका लागि रकम ठूलो नहुन सक्छ। तर, उनीहरूको दुःखमा साथमा रहेको अनुभूति गराउन उक्त रकमले महत्वपूर्ण भूमिका खेल्ने समितिको विश्वास छ,’ रेग्मी भन्छन्।

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट शनिबार विराटनगरमा निकालिने भव्य राधाकृष्ण रथयात्रा यस वर्ष ५९औँ संस्करणका रूपमा सम्पन्न भएको हो। साभारः अन्नपूर्णपोष्ट

Related posts

कांग्रेसले मुस्लिमको हकअधिकार कुण्ठित पार्ने काम कदापी गर्दैन : कानुनमन्त्री चौरसिया

MadhesKhabar

दिपावली सकिएलगत्तै मधेसमा छठको तयारी सुरु

MadhesKhabar

कलैयामा भाेलि ‘सदभाव र्‍याली’

MadhesKhabar

Leave a Comment