बारा,२१भदाैं:बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनाैलीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
शनिबार राति प्रहरी चौकी श्रीनगर बैरियाका प्रहरी सहायक निरीक्षक राजेश सिंह र सशस्त्र प्रहरी बल नेपाल बीओपी बेनौलीका सशस्त्र प्रहरी नायव निरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले ९ वटा बाेरामा रहेकाे १५१ केजी गाँजा बरामद गरेको हाे।
बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धान खेतको बाटो हुँदै ८/९ जना देखि ९ जना व्यक्तिहरूले गाँजा बाेकेर जाँदै गरेको देखेपछि प्रहरीकाे टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीले लखेटेपछि तस्करहरूले आफूले बोकेका गाँजाका पोका धान खेतमै फालेर फरार भएका थिए।
प्रहरीले उक्त स्थानबाट ९ वटा जुटका बोरामा रहेकाे गाँजाका पोका बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए। उनका अनुसार बरामद गाँजा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ। साथै, गाँजा फालेर फरार भएका अपरिचित व्यक्तिहरूको खोजी भइरहेको घलेले बताए।

