माधुरी महतो
वीरगन्ज,१९ भदौं : भोटेकोशी र त्रिशुली नदीमा भदौं १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका २ सय २० जनामध्ये हालसम्म ३८ जनामात्रै परिवारजन र आफन्तको सम्पर्कमा आएका छन् ।
शुक्रबार सार्वजनिक विवरणअनुसार मधेसका २२० जना सम्पर्कविहीन भएकोमा ३८ जना परिवारजन तथा आफन्तको सम्पर्कमा आएका हुन्। त्यस्तै २ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ। अझैपनि १ ८० जना सम्पर्कविहीन नै छन्।
जिल्लागत विवरणअनुसार पर्साबाट ४६ जना सम्पर्कविहीन भएकोमा हालसम्म ३ जनामात्रै सम्पर्कमा आएको र ४३ जना अझै पनि सम्पर्कविहीन रहेका छन्। बाराबाट ३० जना सम्पर्कविहीन भएकोमा ४ जना सम्पर्कमा आएका छन् भने १ जनाको मृत्यु भएको छ भने २५ जना अझै सम्पर्कविहीन छन्।
त्यस्तै, रौतहटबाट २० जना सम्पर्कविहीन भएकोमा ६ जना सम्पर्कमा आएका र १४ जना अझै सम्पर्कविहीन छन्। सर्लाहीबाट २७ जना सम्पर्कविहीन भएकोमा ६ जना सम्पर्कमा आएका र २१ जना अझै सम्पर्कविहीन छन्। महोत्तरीबाट १७ जना सम्पर्कविहीन भएकोमा ७ जना सम्पर्कमा आएका र १० जना अझै सम्पर्कविहीन छन्।
धनुषाबाट १४ जना सम्पर्कविहीन भएकोमा ७ जना सम्पर्कमा आएका र ७ जना अझै सम्पर्कविहीन छन्। सिरहाबाट १४ जना सम्पर्कविहीन भएकोमा २ जना सम्पर्कमा आएका र १२ जना अझै सम्पर्कविहीन छन्। सबैभन्दा बढी सप्तरीबाट ५२ जना सम्पर्कविहीन भएको विवरण छ। त्यसमध्ये ३ जना सम्पर्कमा आएका, १ जनाको मृत्यु भएको र ४८ जना अझै सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ।
यसैगरी, मधेस प्रदेशमा घर भई प्रहरीमा कार्यरुत १० जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। जिल्लागत विवरणअनुसार पर्सामा ३, रौतहटमा ३, सर्लाहीमा ३, धनुषामा १ र सप्तरीमा १ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।

