वीरगन्ज,१८ भदौं : भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिकामा वीरगन्जस्थित सामाजिक संस्था सानो पाइलाले राहतका सुरुआती कार्यक्रम सञ्चालन गरेको छ।
प्रभावित समुदायलाई राहत तथा खाद्यान्न सहयोग उपलब्ध गराउने उद्देश्यले सानो पाइलाको टोली विगत तीन दिनदेखि उत्तरगया क्षेत्रमा खटिएको छ।
आवश्यक राहत सामग्रीसहित पुगेको सानो पाइलाले स्थानीय जनप्रतिनिधि तथा समुदायसँग समन्वय गरी प्रभावित परिवारका लागि पोषणयुक्त भोजन तयार गरी वितरण गर्न थालेको छ। बाढीप्रभावित क्षेत्रमा आवागमन र दैनिक जनजीवन निकै कष्टकर बनेका बेला सानो पाइलाले आफ्नो पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत उत्तरगयामा सामुदायिक भान्सा सञ्चालनमा ल्याएको हो।
रसुवा पुगेको टोलीले स्थानीय अवस्थाको प्रारम्भिक मूल्याङ्कन गर्दै प्रभावित समुदायको आवश्यकता पहिचान गरिरहेको जनाएको छ। सोही आधारमा तत्काल आवश्यक राहत तथा सहयोग कार्यक्रमलाई थप विस्तार गरिने संस्थाले जनाएको छ।
सानो पाइलाका स्रोत परिचालन तथा व्यवस्थापन प्रमुख रौनकराज सर्राफका अनुसार हाल बाढीबाट प्रभावित परिवारलाई नियमित रूपमा पोषणयुक्त भोजन उपलब्ध गराउनु संस्थाको प्रमुख प्राथमिकता रहेको छ।
“अहिले प्रभावित परिवारका लागि सबैभन्दा प्राथमिक आवश्यकता पोषणयुक्त भोजन हो। त्यसैले स्थानीय समुदायसँग मिलेर सामुदायिक भान्सा अर्थात् ‘कम्युनिटी किचन’ सञ्चालन गरी खाना उपलब्ध गराउने काम सुरु गरेका छौँ,” सर्राफले भने।
भोजन तयारी तथा वितरणमा स्थानीय समुदायसमेत प्रत्यक्ष रूपमा सहभागी भएको छ। सानो पाइलाको टोली र स्थानीय समुदाय मिलेर खाना तयार गर्ने तथा प्रभावित परिवारसम्म भोजन पु¥याउने काम गरिरहेका छन्।संस्थाले आपत्कालीन अवस्था सामान्य नहुँदासम्म आवश्यकता र परिस्थितिअनुसार सामुदायिक भान्साको सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ।
सानो पाइलाले भोजन सेवामा मात्र सीमित नरही प्रभावित समुदायको प्रारम्भिक पुनस्र्थापनाका लागि एकीकृत राहत तथा पुनस्र्थापना कार्यक्रम अघि बढाउने तयारीसमेत गरिरहेको जनाएको छ।
उक्त कार्यक्रमअन्तर्गत भोजन सेवासँगै अस्थायी आवास, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा संरक्षणसम्बन्धी सेवा, बाल संरक्षण, बालबालिकाको सिकाइलाई निरन्तरता, मनोसामाजिक सहयोग तथा प्रभावित परिवारलाई पुनस्र्थापनातर्फ लैजाने दीर्घकालीन योजना समेटिने संस्थाले जनाएको छ।
तत्कालका आधारभूत आवश्यकताको सम्बोधनसँगै प्रभावित परिवार तथा समुदायलाई क्रमशः सामान्य दैनिक जीवनमा फर्किन सहयोग गर्ने संस्थाको लक्ष्य रहेको छ।

