वीरगन्ज,१२ भदाैं: रसुवा जिल्लाको भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि पर्साकाे पर्सागढी नगरपालिकाका नगरसभा सदस्य असलम आलमले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।
बाढी तथा पहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै आलमले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
पर्सागढी नगरपालिकाको नगरसभा सदस्यका रूपमा आफूले प्राप्त गर्ने एक महिनाको तलब रसुवाका बाढी तथा पहिरो पीडितको राहतका लागि सहयोग गर्ने आलमले बताएका छन्।
बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ परिवार प्रभावित भइरहेका बेला पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त आर्थिक सहयोग गर्ने निर्णय गरेको उनले बताए।
“विपद्को कठिन परिस्थितिमा एकअर्कालाई साथ दिनु नै सच्चा नेपालीपन र मानवताको परिचय हो। बाढी प्रभावित नागरिकको दुःखमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गर्न लागेको हुँ,” आलमले भने।
उनले एक नेपालीका रूपमा देश र नागरिकप्रति सहयोग गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै विपद्को यस घडीमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आवश्यक रहेको बताए।
आलमले आफ्नो सहयोग सानो भए पनि विपत्तिमा परेका परिवारको दुःखमा साथ र ऐक्यबद्धताको भावनाले समर्पित रहेको बताएका छन्। साथै, उनले सबै तहका जनप्रतिनिधि, संघसंस्था तथा सहयोगी मनहरूलाई राहत तथा उद्धार कार्यमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्।
“पीडितको दुःखमा हाम्रो साथ। मानवीय सेवाभन्दा ठूलो धर्म अर्को छैन,” आलमले भने।

